नेपालगन्ज ३१ असोज : नेकपा (एकीकृत समाजवादी)का नेता दलबहादुर सुनार नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्।
लामो समयसम्म एमालेको राजनीति गरेका सुनार संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्रीसमेत हुन्। एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि एकीकृत समाजवादीमा लागेका नेता सुनार सोमबार साँझ नेकपा माओवादीमा प्रवेश गरेका छन्।
माओवादी नेत्री एवं पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदीले सुनारलाई पार्टी प्रवेश गराइन् । सुनार बाँके क्षेत्र नम्बर–३ प्रदेश (क) का स्वतन्त्र उम्मेदवार रहेका छन् । माओवादीले त्यहाँबाट आइपी खरेललाई अगाडि सारेको छ ।
सुनारको पार्टी प्रवेशसँगै माओवादीमा थप विवाद सिर्जना हुने देखिएको छ । खरेलविरुद्धमा माओवादीको एउटा समूहले राजीनामा दिएर विरोध जनाइसकेको छ । त्यही समूह सुनारको पार्टी प्रवेशमा हावी देखिन्थ्यो । पार्टी प्रवेश कार्यक्रममा खरेलको उपस्थिति थिएन ।
सुनार र खरेलको उम्मेदवारीबारेमा सुवेदीले छलफल गर्दै अगाडि बढ्ने प्रतिक्रिया दिएकी छन् । यद्यपि, अन्य नेताहरुले पार्टीले दलबहादुरलाई मत हाल्ने बताएको छ ।
माओवादीमा केहीले खरेल र केहीले सुनारलाई बोक्ने प्रष्ट देखिएको छ । सुनारले आफ्नो उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने ठोकुवा गर्नुले माओवादीका नेताले सुनारलाई राम्रै आश्वासन दिएको बुझ्न सकिन्छ ।
प्रतिनिधी सभा क्षेत्र काँग्रेसको भागमा पर्ने भएपछि उनले प्रदेश सभा–३ ‘क’ मा चुनाव लड्ने आकांक्षा राखेर आफ्नो पार्टीमा टिकटका लागि सक्रिय भएका थिए । तर, उक्त प्रदेश सभा क्षेत्र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी फिर्ता लिन दिएको समयमा पनि उनी आफ्नो निर्णयमा अडिग रहेका थिए । नेता सुनार माओवादी केन्द्रमा किन प्रवेश गरे भन्ने विषय रहस्यमय छ ।
यद्यपी अहिलेसम्म उक्त प्रदेश सभामा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल (आईपी) र स्वतन्त्र उम्मेदवार सुनार दुबैको उम्मेदवारी कायम रहेको छ । सुनारको प्रवेशले बाँके प्रदेश सभा–३ ‘क’ को कम्युनिष्ट राजनीतिले नयाँ मोड लिएको विश्लेषण गर्न थालिएको छ ।