संवाद समूहको पहल :भेरी अस्पतालको विवाद समाधन भयो, रेडक्रसका संरचना व्यवस्थापन गरिदैँ


संवाद समूहको पहल :भेरी अस्पतालको विवाद समाधन भयो,  रेडक्रसका संरचना व्यवस्थापन गरिदैँ

नेपालगन्ज २ कार्तिक : भेरी अस्पतालको परिसरमा रहेका संरचना (सटर) व्यवस्थापन गर्न खोजिदाँ सिर्जीत विवाद सदाका लागि साम्य भएको छ । संवाद समूह बाँकेको निरन्तर संवाद सहजीकरणपछि नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पतालका पदाधिकारीबीच औपचारिक सहमति भएको हो ।

अस्पताल प्रशासनले व्यवसायिक प्रयोजनका लागि दिइएका १९ वटा पक्की सटर ०७८ असोज १ गते डोजर लगाएर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी र नेपाल चिकीत्सक संघले आफनो स्वामीत्वमा रहेका संरचना जोगाउने प्रयास गरेपछि विवाद लम्विएको थियो ।

भेरी अस्पतालले आफनो स्तरोन्नती र विकासका लागि भन्दै गत वर्षदेखि पुराना संरचना भत्काउने अभियान शुरु गरेको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा अन्तर्गत ६ वटा सटर र चिकीत्सक संघ भेरीको ५ वटा सटर रहेका छन् ।

सटरसँगै जोडीएको अर्कोे भवनबाट रेडक्रसको रक्तसञ्चार सेवा प्रवाह भइरहेको छ । रक्त सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म संरचना विस्थापन नगर्न भन्दै रेडक्रसले सहजिकरणका लागि गत वर्ष संवाद समूहलाइ औपचारिक आग्रह गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

समूहले सरोकारवालासँग चरणवद्ध संवाद सहजिकरण गरेपछि हालै दुबै पक्षबीच ६ बुँदे लिखित सहमति भएको हो । भेरी अस्पताल विकास समितिका तर्फबाट मेडिकल सुपरीटेण्डेन्ट डाक्टर बद्री चापागाई र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका तर्फबाट मन्त्री अजीज अहमद सिद्दिीकीबीच लिखित सहमति भएको हो ।

शुरुवाती चरणमा अस्पताल र रेडक्रस पदाधिकारीबीच संवादको समेत स्थिती नबनीरहेका बेला समूहकै निरन्तर सहजीकरणपछि दुवै पक्ष निकासको अवस्थामा पुगेका थिए । संवादको सहजीकरणपछि चिकित्सक संघले यस अघि नै सहमति गरेको थियो । चिकित्सक संघको संरचना भत्काउन शुरु गरिसकिएको छ ।

सहमती पत्रमा रेडक्रशको भोगाधिकारमा रहेका ६ वटा सटर विस्थापन गर्दा हुने नोक्सानीको क्षतिपूर्तिका लागि अस्पताल विकास समितिले सम्बन्धित सरकारी कार्यालयका प्राविधिकबाट मूल्यांकन गराइ सरोकारवाला मन्त्रालयमा निर्णय सिफारिस गर्ने र क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिनु पर्ने, सटर विस्थापन गर्दा रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै असर÷क्षति भएमा अस्पताल विकास समितिलेनै मर्मत सम्भार गर्ने, रक्त सञ्चार सेवा केन्द्रमा नियमित विद्युत आपुर्ति व्यवस्था गर्ने, रक्त सञ्चार सेवाको नयाँ भवन बनेमा सो भवनमा पनि सोही अनरुप विद्युत व्यवस्था गरिदिने उल्लेख गरिएको छ ।

यस्तै रेडक्रसको माथिल्लो तलामा रक्तसञ्चार सेवामा प्रयोग भइरहेका उपकरण, फर्निचर, ल्याब सामाग्रीको उचित व्यवस्थापनका लागि अस्पतालले उपयुक्त स्थान उपलव्ध गराउने, रक्तसञ्चार सेवा केन्द्रको भवनमा कुनै पनि असर नपर्ने गरि अस्पताल विकास समितिले आफनै खर्चमा संरचना व्यवस्थापन गर्ने, संरचनागत सामाग्रीहरु (इटा, झ्याल, ढोका, सरिया) नेपाल रेडक्रस सोसाइटीकै भएकाले सो को जिम्मेवारी (विक्री, वितरण, व्यवस्थापन) स्वय रेडक्रसले गर्ने र सहमती यथाशक्य कार्यान्वयनमा लगिने पनि सहमती गरिएको छ ।

सहमतीपछि रेडक्रस बाँके जिल्ला शाखाका सभापति गोवद्र्धन सिंह सम्झनाले निरन्तर संवादले सौहार्दपूर्ण सहमति भएकोमा धन्यवाद ज्ञापन गरे ।

यस्तै भेरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर बद्री चापागाईले सहमतिलाई अब कार्यान्वयन चरणमा लैजाने विश्वास दिलाए । संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले सहमतीसँगै कार्यान्वयनमा आइपर्ने समस्यामा पनि सहजीकरण गर्ने प्रतिवद्धतासहित दुवै पक्षलाई धन्यवाद ज्ञापन गरे ।

यसअघि संवाद सहमतिउन्मुख भइरहेकै बेला नेपाल सरकारको तर्फबाट रक्तसञ्चार सेवा केन्द्रको नयाँ भवनका लागि बजेट छुट्याइएपछि सहमति कार्यान्वयनमा थप सहजता देखिएको छ । अस्पताल परिसरमै रक्तसञ्चार सेवा केन्द्र भवन निर्माणका लागि शिलान्यास समेत भइसकेको छ ।