गाई पूजाको दिन खण्डग्रास सूर्यग्रहण, यी राशिले हेर्न नहुने

नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने, भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेट जाँदा


गाई पूजाको दिन खण्डग्रास सूर्यग्रहण, यी राशिले हेर्न नहुने

नेपालगन्ज ३ कार्तिक : यही कार्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यो ग्रहण नेपालमा सूर्यको केही भागमात्र काटिएको जस्तो देखिने खगोलविद्ले जनाएका छन् ।

वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डाक्टर जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डाक्टर आचार्यले जानकारी दिए ।

अमेरिकी खगोल समाजका सदस्य समेत रहेका आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।

यसलाई नाङ्गो आँखाले हेर्न हुँदैन । सूर्य ग्रहणलाई सुरक्षित माध्यमबाट हेर्न चाहनेहरुलाई सामाखुसीस्थित तक्षशिला एष्ट्रनोमी क्लबले निःशुल्क व्यवस्था मिलाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

धर्मशास्त्रलाई मान्ने हो भने मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ तथा मीन राशिले हेर्न नहुने र वृष, सिंह, धनु, तथा मकर राशि भएका मानिसहरुले मात्र हेर्न हुने बताएको पाइन्छ ।

यसैबीच, यस वर्ष भाइटीकाको उत्तम साइत कार्तिक १० गते बिहान ११ बजेर ३७ मिनेट जाँदा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बुधबार भाइटीकाको शुभसाइतसहित तिहारका अन्य महत्वपूर्ण दिनबारे जानकारी गराएको हो ।

समितका अनुसार तिहार पर्वसँग सम्बन्धित दिन तथा शुभसाइतहरू :
१) कार्तिक ५ गते, शनिबार — यमदीपदान, धनत्रयोदशी (धन्तेरस)
२) कार्तिक ६ गते, आईतबार — काकबली (कागतिहार), धन्वन्तरी जयन्ती
३) कार्तिक ७ गते, सोमबार — कुकुरतिहार नरकचतुर्दशी, विहान झिसमिसेमा तेल लगाएर नुहाउने, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि
४) कार्तिक ८ गते, मंगलबार — गाईपूजा यसैदिन खण्डग्रास सूर्यग्रहण लाग्ने ।
५) कार्तिक ९ गते, बुधबार — गोवर्द्धनपूजा, बलीपूजा, हलितिहार, म्हपूजा, गोरुपूजा, ने.सं. ११४३ प्रारम्भ
६) कार्तिक १० गते, बिहीबार — यमद्वितीया भाइटीका (किजापूजा), विहान ११ः३७ बजे (उत्तर मोहडा) ।