तिहारमा पटाका पट्काउन नपाइने
File Photo
नेपालगन्ज ५ कार्तिक : बाँकेमा राती १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाँकेमा रातको १० बजेपछि देउसीभैलो खेल्न निषेध गरिएको जानकारी दिए ।
सेतोखरीसंग कुरा गर्दै एसपी अधिकारीले भने–‘जिल्ला सुरक्षा समितिको बैठकले बाँकेमा रातीको १० बजेसम्म देउसीभैलो खेल्न पाउने ब्यवस्था गरेको भएपनि निर्णय हुन बाँकीछ ।’
१० बजेपछि देउसीभैलो खेल्न रोक लगाउनु भनेको साँस्कृतिक पर्व र परम्परामा हस्तक्षेप गरिएको होइन र ?’ सेतोखरीको जिज्ञासामा बाँके प्रहरी प्रमुख एसपी अधिकारीले भने–‘साँस्कृतिक पर्व र परम्परामा हस्तक्षेप होइन । शान्ति सुरक्षा प्रदान गर्न चालिएको सर्तकता हो । सम्भावित अपराध तथा दुर्घटना रोक्न समयसीमा तोकिएको हो ।’
एसपीले भने, ‘रातभर देउसीभैलो खेल्दा सार्वजनिक शान्ति भंग हुने खतरा हुन्छ । गम्भीर प्रकृतिका घटना हुन सक्ने हुनाले शान्ति सुरक्षा कायम गर्न यस्तो रोक लगाइएको हो ।’
‘देउसीभैलो परम्परासँग जोडिएको विषय हो, परम्पराविरुद्ध गइ जबरजस्ती आफूखुशी दक्षिणा माग्ने, होहल्ला गर्ने, मदिरा सेवन गर्ने, उछृङ्खल गतिविधि गर्ने जो कोहीलाई ठाँउका ठाँउ समात्छौं’ एसपी अधिकारीले भने–‘दशैंअघि सार्वजनिक गरिएको सुरक्षा योजना मुताविक हाम्रो सुरक्षा योजना चलिरहेकोछ । २४ घण्टै अलर्टमा छौं । थप जनशक्ति स्टाण्डबाइ राखेकाछौं ।’
एकआपसमा सद्भाव कायम गर्ने, धार्मिक, सामाजिक, साँस्कृतिक सद्भाव विथोल्ने गतिविधि नगर्न उनले अग्रह गरे ।
तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपतजन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत बाँके प्रहरी प्रमुख एसपीले अनुरोध गरे ।
जिल्लाभर पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा पड्काउन नपाइने उनले बताए । पटाका, आतिसबाजी गर्दा चोटपटक लागि घाइते हुने र आगलागी जस्ता घटना हुनसक्ने भएकाले यस्तका कार्य गर्नमा रोक लगाइएको उनले बताए ।
तिहारमा पटकाइने पटाका र आतिसबाजीले शान्ति सुरक्षामा खलल पुग्ने भन्दै बाँके प्रहरीले पछिल्लो समय पटाका लगायतका सामाग्री आफ्नो निगरानी बढाएकोछ ।