नेपालगन्ज ५ कार्तिक : नेपाली काँग्रेसका केन्द्रिय सह–महामन्त्री एवम् बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर–३ का उम्मेदवार किशोरसिंह राठौरले काँग्रेससहित पाँच दलिय गठबन्धनको जित पश्चात जानकी गाउँपालिकाको विकासले गति लिने उद्घोष गरेकाछन् ।
बाँकेको क्षेत्र नम्बर–३ अन्तरगत प्रदेश सभा–३ ‘ख’ को जानकी गाउँपालिका वडा नम्बर–३ मा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार राठौरले विकास र समृद्धिका लागि काँग्रेससहितको गठबन्धनले जित्नैपर्ने बताए ।
जानकी गाउँपालिकामा स्थानीय सरकारको नेतृत्व नेपाली काँग्रेसका जनप्रतिनिधीले गरिरहेको अवस्थामा विकास र समृद्धिका लागि आसन्न निर्वाचनबाट प्रदेश र प्रतिनिधी सभामा पनि नेपाली काँग्रेससहितको गठबन्धनलाई जिताउनुपर्ने उनले स्पष्ट पारे ।
‘यहाँ शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, बेरोजगारी समस्या समाधानका लागि थुपै्र काम गर्नुपर्ने अवस्था छ, जानकी गाउँपालिका सहित यहाँको समग्र क्षेत्रको विकास निर्माणका लागि सक्दो काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दछौं,’ राठौंरले भने ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा–३ ‘ख’ का उम्मेदवार बादशाह कुर्मीले आफु निर्वाचित भएपछि आफ्नो प्रदेश सभा क्षेत्रको विकासका लागि सक्रियतापुर्वक लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।
उक्त कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर बिक तुफान, काँग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादव, माओवादी केन्द्रका नेता रक्षाराम कुर्मी लगायतले बोलेका थिए ।
उक्त कार्यक्रममा गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी, राष्टिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।