नेपालगन्ज ६ कार्तिक : कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ ।
यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए। यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठूलो चाड हो। यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आईतबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ ।
सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ ।
चौँथो दिन मंगलबार गाईको पूजा गरिन्छ । चौथो दिन बुधबार गोवर्द्धनपूजा, बलीपूजा, हलितिहार, गोरुको समेत पूजा गरेर मनाइन्छ । पाँचौँ दिन बिहीबार दिदी बहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।
नयाँ भाँडा किनेर मनाइयो धनतेरस, गरियो कुबेरको विशेष पूजा यसैगरी कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ ।
यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ। केहीले आज कुबेरको पूजा गरेपनि कुल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन् । आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ ।
धनतेरसका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ । आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ। यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो ।
भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तल लगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ । नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ ।
मनाइयो काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजासहित मीठा मीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शनिबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राचार्य श्रीकृष्ण अधिकारीले जानकारी दिए । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा मीठा खान दिइ खुसी पार्ने गरिएको पनि उनले बताए । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
‘काकेन दधि भक्षितम’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिनेक्रम आज साँझ पनि जारी रहन्छ । यमदीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।
शनिबारदेखि नै कार्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको छ । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै काग तिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शनिबार यमपञ्चक सुरु भएकामा आज काग तिहार पर्व मनाइएको हो ।