आम निर्वाचन २०७९

काँग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र


काँग्रेसले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

नेपालगन्ज १२ कार्तिक :प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली काँग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्य कार्यालय सानेपामा शनिबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली काँग्रेसको नेतृत्वमा अबको सरकार’ नारा रहेको घोषणापत्र महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय समितिले तयार पारेको हो । अर्थशास्त्री तथा योजना आयोगका पूर्व उपाध्यक्षहरू डाक्टर स्वर्णिम वाग्ले, डाक्टर गोविन्द पोखरेल, शिक्षााविद् डाक्टर कृष्णप्रसाद पौडेल, राजनीतिक विश्लेषक तथा वैदेशिक मामिला जानकार गेजा शर्मा वाग्ले, शंकर तिवारीलगायत काँग्रेस नेताहरुले घोषणापत्र लेखेका हुन् ।

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नवीनता रहेको भन्दै घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको दाबी गरे ।

५२ पृष्ठ लामो घोषणापत्र जारी गरेको काँग्रेसले ती संकल्प आगामी पाँच वर्षमा पूरा गर्ने जनतासामु प्रतिज्ञा गरेको छ । घोषणापत्रका मुख्य १० बुँदा यस्ता छन् :

Kanti Aarogya Hospital Nepalgunj

१. महिला साक्षरता दर ९५ प्रतिशत पुर्याउने, इन्टरनेट सेवा पुगेका शैक्षिक संस्था ८० प्रतिशत र प्राविधिक र व्यावसायिक सीप ४० प्रतिशत पुर्याउने ।

२. तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने । बीमा रकम दायरा बढाइ १० लाख पुर्याइने ।

३. रोजगारीका सम्भावना बाकेका क्षेत्रहरूमा वार्षिक दुई लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने । विपन्नका लागि न्यूनतम १०० दिनको रोजगारीको प्रत्याभूति गर्ने ।

४. माध्यामिक तहसम्मका सम्पूर्ण कक्षाको लागि उपयोगी हुने डिजिटल सिकाइका बहु विधागत प्लेटफर्मको निर्माण गरिने छ । साथै, यस्ता प्लेटफर्म चलाउनका लागि १ देखि १० कक्षासम्मका विद्यार्थीलाई मासिक केही गिगावाट इन्टरनेट डाटा निःशुल्क उपलब्ध गराउने ।

५.नेपाललाई सन् २०४५ सम्ममा शून्य कार्बन (नेट जिरो) उत्सर्जन गर्ने राष्ट्र बनाउन वन क्षेत्रको संरक्षण, प्रकृतिमा आधारित पर्यापर्यटन, दिगो कृषि प्रणाली, वनमा आधारित उद्योग व्यवसायको प्रवद्र्धन, जैविक विविधताको संरक्षण, स्थानीय सीप र प्रविधिको विकास र स्वच्छ ऊर्जाको सर्वव्यापी उपयोग गर्ने नीतिगत तथा संस्थागत व्यवस्था गर्ने।

६.आगामी पाँच वर्षमा विद्युतीय सवारी साधनको प्रयोग ५० प्रतिशत पुर्याउने ।

७. पाँच वर्षभित्र भू–उपयोग नीति तथा ऐनबमोजिम भूमिको वर्गीकरण गरिने छ । प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गर्ने ।

८. २४ घण्टालाई आठ–आठ गरी तीन चरणमा विभाजन गरी निर्माण परियोजनालाई समयमै सम्पन्न गर्ने नीति अनुशरण गर्ने ।

९.आगामी पाँच वर्षमा विद्युतीय ऊर्जाको उत्पादन १० हजार मेघावट. बनाइ विद्युतीय ऊर्जामा शतप्रतिशत नेपालीको घरायसी, कृषि र उद्योग व्यापारको आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत १२०० युनिट पु¥याइने । पाँच बर्षमा ४०० केभीको पूर्व–पश्चिम प्रसारण लाइन सम्पन्न गर्ने । बुटवल–गोरखपुर अन्तर्राष्ट्रिय विद्युतीय प्रशारण लाइन निर्माण सम्पन्न गरी लम्की–बरेलीलगायत भारतसँग थप तीनवटा र चीनसँग एउटा अन्तर्राष्ट्रिय प्रशारण लाइनको अध्ययनपश्चात लाभदायक देखिएमा पीपीपी मोडलमा आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी निर्माण कार्य शुरु गर्ने ।

१०. पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख, पर्यटकको औसत बसाइलाई १३ दिनबाट १५ दिन, प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने ।