जानकी (बाँके) १२ कार्तिक : नेपाली काँग्रेसका सह–महामन्त्री एवम बाँके क्षेत्र नम्बर– ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार किशोरसिंह राठौरले चुनाव जितेपछि जनताकै सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् । बिगतमा चुनाब जितेका नेताहरु जिम्मेवार नहुँदा यो क्षेत्र विकासमा पछाडी परेको उनको बुझाई छ ।
नेपाली काँग्रेस नेतृत्वको पाँच दलिय ‘लोकतान्त्रिक–बाम गठबन्धन’ ले बाँके क्षेत्र नम्बर–३ अन्तरगत प्रदेश सभा–३ ‘ख’ को जानकी गाउँपालिका वडा नम्बर– ३ ईन्द्रगाउँमा शनिबार बेलुका आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका उम्मेदवार राठौरले भने, ‘तपाईंहरुलाई धोका दिने, ढाँट्ने, ठग्ने नेताहरुले बिगतमा चुनाव जिते, यसले गर्दा यो क्षेत्रमा सोचे अनुसारको विकास हुन सकेन, मधेसी समुदायमा थुप्रै समस्याहरु छन, ति समस्यालाई हामी चुनाव जितेपछि पुरा गर्नेछौ ।’
चुनाव जितेपछि आफु फेरी पनि जनतामाझ आउने उनले बताए । ‘गठबन्धनका उम्मेदवारलाई जिताउनुस, प्रदेश र संघीय सरकारको बजेट हामी ल्याउँछौं, गठबन्धनलाई जिताएर विकासको अभियानमा मलाई साथ दिनुस,’ उम्मेदवार राठौरले भने । नेपाली काँग्रेसका कारण मुस्लिम, मधेसी, दलित, महिला, अल्पसंख्यक लगायत जात जातीले अधिकार पाएको उनले जोड दिए ।
अर्को प्रसंगमा सह–महामन्त्री राठौरले गठबन्धन सत्तामा जानका लागि नगरिएको बताए । ‘संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको हो, गठबन्धन गरेर जाने कुरा संविधानको सुरक्षा र यो क्षेत्रको विकास हो,’ उनले थपे ।
नेपाली काँग्रेस जानकी गाउँपालिका वडा नम्बर–३ का वडा सभापति बिन्देश्वर कुर्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई प्रदेश सभा–३ ‘ख’ का उम्मेदवार बादशा कुर्मी, प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार आशा बिक, प्रदेश सभाका समानुपातिक उम्मेदवार एवम क्षेत्र नम्बर ३ का काँग्रेस सभापति मोहम्मद नक्की खाँ, नेकपा (माओवादी केन्द्र)का नेता रक्षाराम वर्मा(कुर्मी), लगायत नेताले सम्बोधन गरेका थिए ।
उक्त कार्यक्रममा काँग्रेसका स्थानीय नेताहरु बोदीलाल न्यौपाने, राजन वर्मा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत ठुलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित भएका स्थानीयले गठबन्धनका उम्मेदवारमाथी आफुहरुको ठुलो भरोसा रहेको र जितेपछि जानकीको विकासमा ध्यान दिन आग्रह गरेका थिए ।