नेपालगन्ज १३ कार्तिक : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेका १०८ मतदान स्थल अति संवेदनशील रहेकोछ । बाँकेका ८ पालिकामा कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै मतदान स्थललाई दुई भागमा वर्गीकरण गरिएकोे छ ।
बाँकेमा कुल एक सय ३८ वटा मतदानस्थल रहेकाछन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन् ।
उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकोमा एक सय ८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताइन् ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मतदान स्थलको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सोही अनुरुप सुरक्षा संयन्त्र परिचालन गरिने बताए ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहने बताए ।
निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए ।
उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराख्ने पनि बताए । निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी हाई अलर्टमा रहेकोछ । यसका लागि रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा रहनेछ ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिनेछ । यसका अलावा निर्वाचन अवधिमा नेपाल–भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती हुनेछ । बाँकेको ६५ किलोमिटर भू–भाग भारतसँग खुला सीमा जोडिएको छ ।