उम्मेदवार जिताउन मैदानमा उत्रिए बाँकेका पूर्वमन्त्रीहरू

धवलले भने–‘राप्रपाले कुनै पनि गद्धारी गर्दैन, राप्रपालाई आउने बराबर भोट एमालेलाई आउँछ’


उम्मेदवार जिताउन मैदानमा उत्रिए बाँकेका पूर्वमन्त्रीहरू

नेपालगन्ज १५ कार्तिक : बाँकेमा नेकपा एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई जिताउन राप्रपाका नेता तथा पूर्वमन्त्री प्रेम भण्डारी र फत्तेसिंह थारु मैदानमा खटेकाछन् ।

पूर्वमन्त्री भण्डारी बाँके क्षेत्र नम्बर–१ र पूर्वमन्त्री थारुले क्षेत्र नम्बर–३ मा एमाले राप्रपा तालमेलका उम्मेदवारलाई जिताउन कमाण्ड सम्हाल्नु भएको छ । उनीहरु उम्मेदवार सँगसँगै निर्वाचन क्षेत्र अन्तर्गतका गाउँवस्तीमा पुग्न थालेकाछन् ।

क्षेत्र नम्बर– १ का पूर्व सांसद समेत रहेका भण्डारी राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निरन्तर चुनावी अभियानमा सक्रिय बनेकाछन् ।

सोमवार नरैनापुरको पनि विकट क्षेत्रका रुपमा रहेको सीमावर्ती क्षेत्र वडा नम्बर– २ रोशनपुर्वा र घोडदौरिया लगायतका स्थानमा भण्डारीको नेतृत्वमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेल सहित चुनावी प्रचार गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

राप्रपाका बरिष्ठ नेता थारु क्षेत्र नम्बर–३ मा एमाले उम्मेदवार उम्मेदवारसँगै बैजनाथ गाउँपालिकाका विभिन्न गाउँवस्तीमा पुगे ।

बाँके क्षेत्र नम्बर–३ ‘क’ मा केही दिनयता पूर्वमन्त्री एवम् राप्रपा नेता थारुको प्रमुख आतिथ्यमा नेकपा एमाले–राप्रपाको औपचारिक र अनौपचारिक चुनावी कार्यक्रम भईरहेका छन् । पूर्वमन्त्री थारुले एमाले र राप्रपाका संयुक्त उम्मेदवारहरुको विजय सुनिश्चित भएको दावि गरे ।

नेकपा एमालेका केन्द्रिय सदस्य बाँके ईन्चार्ज एवम् बाँके क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ ईतिहास रच्ने अवर प्राप्त भएको बताए । उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड दिए ।

बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता, कार्यकर्ता तथा जनता समेत उत्साहित भएको नेकपा एमाले राप्तीसोनारीका युवा नेता माधव पौडेलले बताए । दुई पार्टीबीचको तालमेलले जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उनको दावी छ ।

बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नम्बर–२ प्रतिनिधि सभा उम्मेदवार डाक्टर धवलसम्शेर राणा र प्रदेश सभातर्फ बाँके क्षेत्र नम्बर– १ ‘क’ मा राप्रपाका उम्मेदवार नरेन्द्र पौडेललाई सघाउने भएको छ । अन्य निर्वाचन क्षेत्रमा राप्रपाले नेकपा एमालेका उम्मेदवारलाई सघाउने गरी तालमेल भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए ।

नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर–१ प्रतिनिधि सभा सदस्यमा केन्द्रिय सदस्य सूर्य ढकाल, प्रदेश ‘ख’ मा दुर्गा थारु (सन्तोष), बाँके क्षेत्र नम्बर–३ प्रतिनिधि सभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश ‘क’ मा पार्टी सचिव रत्न खत्री र प्रदेश ‘ख’ मा पार्टी सचिवालय सदस्य भीम ओली उम्मेदवार बनेकाछन् ।

राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नम्बर–२ का उम्मेदवार डाक्टर धवलशम्शेर राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गरे ।

‘परिस्थितिको विश्लेषण गरेर समय र परिस्थितिलाई आफ्नो काबुमा लिएर अगाडि बढौं, नतिजा सकारात्मक आउछ’ उनले भने, ‘राप्रपाले कुनै पनि गद्धारी गर्दैन राप्रपालाई आउने बराबर भोट एमालेलाई आउँछ ।’