प्रचार–प्रसार सशक्त बनाउँदै काँग्रेस उम्मेदवार


प्रचार–प्रसार सशक्त बनाउँदै काँग्रेस उम्मेदवार

नेपालगन्ज १५ कार्तिक : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा होमिएको नेपाली काँग्रेस सहितको गठबन्धनले बाँके क्षेत्र नम्बर–२ मा आफ्नो प्रचार–प्रसारलाई सशक्त ढंगले अगाडी बढाएको छ ।

क्षेत्र नम्बर–२ मा काँग्रेसले पाँच दलिय गठबन्धनको तर्फबाट सुदीपनरसिंह राणालाई प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनाएको छ ।

प्रदेश सभा–२ ‘क’ मा काँग्रेसले राजकुमार वर्मा र प्रदेश सभा–२ ‘ख’ मा सुरेन्द्र हमाललाई मैदानमा उतारेको छ । काँग्रेसका तीनै जना उम्मेदवारहरु मंगलबार पनि दिनभर घरदैलोमा ब्यस्त भएका छन् ।

प्रदेश सभा–२ ‘क’ अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा प्रतिनिधी सभाका उम्मेदवार राणा, प्रदेश सभा–२ ‘क’ का उम्मेदवार वर्मासहितको उपस्थितीमा घरदैलो तथा भेटघाट गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज–१८ लग्दहवा र कारकाँदोमा गरिएको घरदैलोमा स्थानीय मतदाताहरु उत्साहित भएको प्रदेश सभा सदस्यका उम्मेदवार वर्माले बताए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ स्थित फुलटेक्रा, रामनगर लगायत स्थानमा घरदैलो गरिएको छ । प्रतिनिधी सभा सदस्यका उम्मेदवार राणा, प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार हमाल, प्रदेश सभाका समानुपातिक उम्मेदवार माया पुन र सुशीला नेपालीसहित नेता, कार्यकर्ताहरु घरदैलोमा पुगेर मत मागेका थिए ।

सोक्रममा मतदाताले उम्मेदवार आफुहरुलाई शुभकामना सहित अग्रिम बधाई दिएको उम्मेदवार राणाले बताए ।

मतदाताको माया र स्नेहले आफुहरुमा उत्साह थपिएको प्रदेश सभाका उम्मेदवार हमालले सुनाए । ‘नेपाली काँग्रेसका उम्मेदवारप्रति मतदातामा धेरै भरोसा रहेको हामीले पायौं, हामी जहाँ पुग्छौं, त्यहाँका मतदाताले हामीलाई राम्रो रेसपोन्स गर्नुभयो,’ उनले भने ।