नेपालगन्ज १७ कार्तिक : आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेसले प्रचार प्रसारलाई तिब्रता दिएको छ । पाँच दलिय गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न नेपाली काँग्रेसका नेता, कार्यकर्ता गाउँ गाउँमा पुगेका छन् ।
क्षेत्र नम्बर–२ अन्तरगत रहेको डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न वडाका घरघरमा काँग्रेसका नेता, कार्यकर्ता पुगेर मत मागेका हुन् । यसैक्रममा बिहीबार (आज) बिहान डुडुवा गाउँपालिकाको बनकट्टीमा घरदैलो गरिएको छ ।
बाँके प्रतिनिधी सभा क्षेत्र नम्बर– २ का उम्मेदवार सुदीपनरसिंह राणा, प्रदेश सभा २ (१) का उम्मेदवार राजकुमार बर्मा, डुडुवा गाउँपालिका अध्यक्ष एवम् काँग्रेस नेता नरेन्द्रकुमार चौधरी सहितको टोली घरदैलोमा निस्केको छ ।
घरदैलोका क्रममा डुडुवाका स्थानीयले काँग्रेसको नेतृत्वमा स्थानीय सरकार चलिरहेको अवस्थामा आसन्न निर्वाचनबाट पनि प्रदेश र संघीय सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने बताएका छन् । यसका लागि नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।
डुडुवा गाउँपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का जनप्रतिनिधीका कारण गाउँसभा लामो समयदेखी रोकिएको आरोप लाग्दै आएको छ । सभाले बजेट स्वीकृत नगर्दा गाउँपालिकाले महत्वपूर्ण विकास, योजना तथा कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।
घरदैलोका क्रममा स्थानीयले गाउँपालिकाको विकास रोक्ने जनप्रतिनिधीको पार्टीलाई आउँदो निर्वाचनमा मुल्यांकन गर्ने चेतावनी समेत दिएका छन् । यसअघि बुधबार पनि सोही गाउँपालिकाको विभिन्न वडामा घरदैलो गरिएको थियो ।
यता प्रदेश सभा २ (२) का उम्मेदवार सुरेन्द्रबहादुर हमाल पनि बिहीबार नेपालगन्जका विभिन्न वडामा घरदैलोमा निस्केका छन् । निर्वाचनमा आफुलाई मतदान गरी विगतमा अधुरा रहेका काम पुरा गर्ने जिम्मेवारी पुनः दिन आग्रह गरेका छन् ।