लोकतन्त्रको स्थायित्वका लागि गठबन्धनलाई जिताऔं : काँग्रेस प्रवक्ता महत


लोकतन्त्रको स्थायित्वका लागि गठबन्धनलाई जिताऔं : काँग्रेस प्रवक्ता महत

नेपालगन्ज १८ कार्तिक : नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशसरण महतले संविधान र लोकतन्त्रलाई समाप्त पार्ने षड्यन्त्रलाई विफल पार्न बनेको पाँच दलीय गठबन्धनले आफ्नो उद्देश्य पूरा गरेको बताएकाछन् ।

उनले ठूलो त्याग र बलिदानपछि प्राप्त भएको लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको गठबन्धनले प्रतिगमनलाई रोक्न सफल भएको स्पष्ट पारे ।

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डाक्टर महतले निर्वाचनले लोकतन्त्र र संविधानको रक्षा गर्नुका साथै स्थायित्व र समृद्धि ल्याउने बताए ।

गठबन्धनले लोकतन्त्र र संविधानको रक्षा तथा राजनीतिक स्थायित्वलाई मुख्य एजेण्डा बनाएर निर्वाचनमा होमिएको उनको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

‘व्यक्तिवादी दम्भ, एकाधिकार र प्रतिगमनलाई परास्त गर्न गठबन्धन सफल भएको छ’, प्रवक्ता महतले अगाडी भने, ‘अब यो गठबन्धनले आगामी पाँच वर्षमा देशलाई समृद्धि र विकासको बाटोमा अगाडि बढाउनेछ ।’

उनले गठबन्धनको सरकार बनेपछि सानो समयमा पनि थुप्रै लगानी भित्रिएको, आर्थिक विकासका आधार बनेको र पूर्वाधार विकास गर्न अगाडि बढेको बताए ।

अबको दिनमा देशभित्रै थुप्रै कलकारखाना स्थापना गरेर कृषिमा विशेष लगानी गरेर हजारौँको सङ्ख्यामा रोजगारी सिर्जना गर्ने महतको भनाइ छ।

गठबन्धन गरेको ठाउँमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै उनले भने–‘गठबन्धन भनेकै भोट दिने र लिने पनि हो ।’

डाक्टर महतले गठबन्धन भए पनि धेरै ठाउँमा उम्मेदवारमा समस्या देखिएको बताउँदै समस्या देखिएका ठाउँमा मिलाउने प्रयास भइरहेको उल्लेख गरे ।

बाँके क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’ मा काँग्रेसको भागमा परेको भए पनि माओवादी केन्द्रले उम्मेदवार उठाएको छ । त्यस्तै, क्षेत्र नम्बर–३ को प्रदेश ‘क’ मा माओवादीमा देखिएको विवादले दुई जना उम्मेदवार खडा हुँदा काँग्रेसले कसलाई मत हाल्ने अन्योल छ । डाक्टर महतले दुवै ठाउँमा मिलाउने प्रयास भइरहेको स्पष्ट पारे ।

नेपालगन्जमा माओवादीलाई छोड्न आग्रह गरिरहेको जानकारी दिएका महतले क्षेत्र नम्बर–३ को ‘क’ मा माओवादीले जसलाई आधिकारिक मान्छ उसलाई मत हालिने बताए । पत्रकार भेटघाट नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको थियो । भने कार्यक्रम सचिव विजय मल्लले सञ्चालन गरेका थिए ।