‘एमालेले खजुराका जनतालाई झुक्काउने काम मात्र गर्‍यो : राठौर


‘एमालेले खजुराका जनतालाई झुक्काउने काम मात्र गर्‍यो : राठौर

नेपालगन्ज २१ कार्तिक : खजुरा गाउँपालिकाको वडा नम्बर–२ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर–२ लोकतान्त्रिक बाम गठबन्धनले संयुक्त रुपमा एक सय ८० जेष्ठ नागरिकलाई सम्मान गरेको हो । खजुरा गाउँपालिका अन्तर्गत–२ नम्बर वडाको ‘के’ गाउँ र गौघाट बाबास्थान चोकमा सम्मान गरिएको थियो ।

जेष्ठ नागरिकहरुलाई बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौर र बाँके क्षेत्र नम्बर–३ (२) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार बादशाह कुर्मीले सम्मान गरेका थिए । खजुरामा जेष्ठ नागरिकलाई सम्मान गर्दै नेपाली काँग्रेसका सह–महामन्त्री समेत रहेका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राठौरले खजुराको विकासका लागि आफुले इमानदार भएर काम गर्ने बताए ।

उनले भने, ‘यसअघि यहि वडाबाट एमालेका दुई जनाले जितेर जानु भएको रहेछ, तर उहाँले पाँच वर्षमा केहि गर्न सक्नु भएन, परसपुर गौघाट सडक खण्डका कारण यहाँका जनताले धेरै दुख पाएको कुरा सबैलाई थाहा छ, पाँच वर्षमा आफनो घर अगाडी सडक बनाउन नसक्ने नेताहरु फेरी तपाईको घर आगनमा भोट माग्न आउँदैछन् । झुटो कुरा गरेर आश्वासन बाढने नेतालाई जनताले चिन्न जरुरी छ ।’

सह–महामन्त्री राठौरले बाँके जिल्लाको आर्थिक उन्नतीसँग जोडिएको सिक्टा सिंचाईले खजुरालाई जोडन नसक्नु निकै दुःखदायीपूर्ण कुरा भएको बताए । उनले भने, ‘खजुरा क्षेत्र भनेको किसानहरु बस्ने क्षेत्र हो । यहाँको जमिन उर्वर छ, तर सिंचाईको सुविधा नहुँदा धेरै किसानले दुख पाउनु भएको छ, हामी त्यो समस्या पाँच वर्ष भित्र हल गरेर जनतालाई सिंचाईको व्यवस्था गर्नेछौं ।’

Kanti Aarogya Hospital Nepalgunj

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सभा– ३(२) का उम्मेदवार एवं संविधान सभा सदस्य कुर्मीले खजुराका जनतालाई सधै एमालेले झुटो कुरा गरेर आफनो स्वार्थ पुर्ति गर्ने माध्यम बनाएको बताए ।

उनले भने, ‘मैले यसअघि पनि यस क्षेत्रबाट चुनाव लडेको थिए, म हारेपनि सधैं जनताको घरदैलोमा आएर सेवा गरेको छु, यस क्षेत्रका जनताको समस्या बुझेको छु, यहाँबाट जितेर गएका नेताले पाँच वर्ष कति विकास गरे त्यो तपाई सबैले हेर्नु भएको छ, आज पुल भत्किएर जनतालाई हिड्न समेत कठिन छ, गौघाट–परसपुर सडक खण्डमा, पाँच वर्ष दुई जना नेताले जितेर पनि घर अगाडीको बाटो बनाउन सक्नु भएन, अब उहाँबाट जनताले अरु के आसा गर्नु ।’

उक्त कार्यक्रममा संविधान सभा सदस्य आसा बिकले एमालेले पाँच वर्ष खजुरा गाउँपालिकाको नेतृत्व गर्दा विकास निर्माणका योजनालाई अलपत्र पारेर आफना नजिकका कार्यकर्तालाई पोस्ने काम मात्र गरेको बताइन् ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रममा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सदस्य भ्रदप्रसाद देवकोटा, माओवादी केन्द्र खजुरा गाउँपालिका सचिव धनीराम ओली, नेपाली काँग्रेस खजुरा गाउँपालिका वडा नम्बर–२ सभापति अमर रावत, माओवादी केन्द्र खजुरा गाउँपालिका वडा नम्बर–२ संयोजक कुलदीप गिरी, एकीकृत समाजवादीका वडा संयोजक खड्क मल्ल, जेष्ठ नागरिक रविलाल कँडेल लगायतले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजय गराउन अपिल गरेका थिए ।