नागरिक समाजसँग संवाद

निर्वाचन आचारसंहिता पालनामा खबरदारी


निर्वाचन आचारसंहिता पालनामा खबरदारी

नेपालगन्ज २१ कार्तिक : नागरिक समाजका अगुवाले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालनासँगै आवश्यक खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाँकेस्थित नागरिक समाजको प्रतिनीधीत्व गर्ने पेशागत संघ संगठनका प्रमुख, अधिकारकर्मी, चिकित्सक, कानून व्यवसायी, सञ्चारकर्मी, यूवा लगायतको सहभागिता रहेको कार्यक्रममा मंसिर ४ गते हुने प्रतिनीधि तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण बनाउन आचारसंहिता पालना नै प्रमुख दायित्व भएकाले राजनीतिक दल, उम्मेदवार लगायतलाई आचारसंहिता कार्यान्वयनका लागि सचेतसँगै दबाब दिइनु पर्नेमा जोड दिइएको छ ।

संवाद समूह बाँकेद्वारा सोमबार नेपालगन्जमा आयोजित निर्वाचन आचार संहिता कार्यान्वयनमा नागरिक समाजको भूमिका विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

निर्वाचन आचारसहिंता अनुगमन अधिकृत खडानन्द अधिकारीको विशेष उपस्थिती रहेको कार्यक्रममा चुनावी प्रचारप्रसारको नाममा आचारसंहिता विपरित गाडी, व्यानर, झण्डा र स्टीकरको व्यापक प्रयोग गरिएको भन्दै सहभागी अधिकांसले सचेततासँगै खवरदारीमा पनि जोड दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन आचारसहिंता अनुगमन अधिकृत खडानन्द अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन नागरिक समाजको अंह भूमिका रहने भन्दै आवश्यक सूचना दिन र असल नागरिकको जिम्मेवारी वहन गर्न पनि आहवान गरे । आचारसंहिता उल्लंघन गर्ने जो सुकै किन नहोस्, सचेत गराउनेदेखि कारबाहीको दायरामा ल्याउने सम्मको कार्य गर्न आफुहरु नडगमगाउने उनले स्पष्ट पारे ।

उच्च अदालत बार एशोसीएशन नेपालगन्जका अध्यक्ष शिवराज श्रेष्ठले आचारसंहिता उल्लंघनका ससाना घटनातर्फ ध्यान दिन आह्वान गर्दै मतदातालाई प्रभावित पार्ने काम कही कतैबाट गर्न नहुनेमा जोड दिए । चिकित्सक संघ भेरीका सचिव डाक्टर दिनेश चौधरीले निर्वाचन आचारसंहिता पालना गर्नु साझा दायित्व भएकाले सोही अनुसारको समन्वय र सहकार्य हुनु पर्ने आवश्यक्ता औल्याए ।

च्याम्वर अफ कमर्स, नेपालगन्जका अध्यक्ष सतिश अग्रवालले आचारसंहिता उल्लंघनकर्तालाई दिइनु पर्ने सजाय सानो भएकाले पनि अटेरी गरिएको हुन सक्ने भन्दै कारबाहीको दायरा बढाउन पनि सुझाव दिए ।

नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले सामाजिक सञ्जालमा आउने आचारसंहिता उल्लंघनका सूचनाले वास्तविक मिडिया मारमा परेको भन्दै आयोगकातर्फबाट आवश्यक नियमन र सहज सूचना प्रवाहको बातावरण मिलाइदिन पनि अनुरोध गरे ।

जिल्ला बार बाँके अध्यक्ष जनकबहादुर शाहीले आचारसंहिता पालना गनुपर्नेले नै आचारसंहिता उल्लघंन गर्न उद्दत देखिएको भन्दै पालना भए नभएको नियमन गर्नु पर्नेमा जोड दिए । राष्ट्रिय अपाङग महासंघका प्रतिनिधी टेकराज जैसीले अपांगता भएका, असक्त व्यक्तिहरुका लागि सहज मतदान गर्ने व्यवस्था मिलाइनुपर्ने आवश्यक्ता औल्याए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका निवर्तमान उपप्रमुख एवं संवाद सदस्य उमा थापा, नेपाल पे्रस यूनियनका अध्यक्ष अर्जुन ओली, जिल्ला युवा क्लब सञ्जालका उपाध्यक्ष मनमोहन बर्मा, उद्योगी/व्यवसायी अगुवा ललीत रौनीयार, अधिकारकर्मीद्वय प्रकाश उपाध्याय र रविन्द्र कर्ण लगायतले पैसा खर्च गरेर मतदाता प्रभावित पार्ने कार्य, दलका प्रचारप्रसारमा बालबालिका प्रयोग, सञ्चार माध्यमको हुन सक्ने दुरुपयोग, आचारसंहिताको प्रभावकारी अनुगमन तर्फ अनुगमन अधिकृतको ध्यानाकर्षण गराए ।

संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजिकरण गरिएको कार्यक्रममा सहभागीले विभिन्न जिज्ञाशा राख्नुका साथै आवश्यक सुझाव समेत दिएका थिए । संवाद समूह, बाँकेले निर्वाचन आचारसंहिता पालनाका सन्दर्भमा सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।

थप समाचार

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता