जानकी(बाँके) २२ कार्तिक : बाँके, प्रदेश सभा–३ (२) का उम्मेदवार बादशाह कुर्मीले संविधान रक्षा र अहिले प्राप्त भएको ब्यवस्था जोगाउनका लागि नेपाली काँग्रेससहित पाँच दलबीच गठबन्धन गर्नुपरेको प्रष्ट्याएका छन् ।तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई लत्याएर दुई पटक संसद विघटन गरेकाले पाँच दल एकै ठाउँमा उभिएर गठबन्धन गर्नुपरेको बताए ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर–५ स्थित बेलहरी (गुरुवा गाउँ) मा मंगलबार कार्तिक पूर्णिमा नहान मेलाको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका काँग्रेस नेता कुर्मीले केपी ओलीले केवल कुर्सीका लागि विगतमा बाम गठबन्धन गरेको र तीन वर्षमै असफल भएको बताए । नेपाली काँग्रेसको नेतृत्वमा बसेको संबिधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी काँग्रेसकै भएको बताए ।
‘यो संबिधानले मधेसी, मुस्लिम, दलित, अपांगता, महिला, जनजाती, थारु, खस आर्य लगायत सबैको अधिकारलाई सुरक्षा गरेको छ, यही संबिधानको सुरक्षा गर्नका लागि मेरो उम्मेदवारी भएको हो,’ उनले भने । आफु यसअघि संबिधान सभा सदस्य हुँदा बाँकेको क्षेत्र नम्बर ३ मा थुप्रै विकास निर्माणका काममा बजेट हालेको र अब निर्वाचित भएपछि पुनः विकास निर्माणको कामलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए ।
‘यो मेलामा पवित्र उद्देश्य लिएर आउनु भएको छ, शान्तिपूर्वक मेला अवलोकन गर्नुहोला,’ उनले भने ‘आउँदै गरेको निर्वाचनमा प्रतिनिधी सभा सदस्य पदमा हाम्रा नेता किशोरसिंह राठौर र प्रदेश सभा–३(२) मा मलाई रुख चिन्हमा मतदान गरी विजयी गराउनु हुन म हार्दिक अनुरोध गर्दछु,’ उनले भने ।
जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले यसवर्षबाट गाउँपालिकाले निःशुल्क रुपमा मेला सञ्चालन गर्ने ब्यवस्था मिलाएको बताए । यसअघि मेला सञ्चालक समितिले मेला स्थलमा पसल राखे वापत शुल्क लिने गरेकोमा गाउँपालिकाले यसवर्षबाट निःशुल्क गरिदिएको अध्यक्ष खाँले सुनाए । यसका लागि गाउँपालिकाले मेला सञ्चालक समितिलाई ३ लाख रुपैयाँ प्रदान गरेको छ ।
आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो विवेक प्रयोग गरेर असल नेतालाई भोट हाल्न अध्यक्ष खाँले आग्रह गरे । ‘यस क्षेत्रको विकास गर्न सक्ने क्षमता भएको नेतालाई जिताउनुस्,’ उनले भने ‘अहिले मतदान गरेर पछि पछुताउने अवस्था नहोस् ।’
जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले आसन्न निर्वाचनका लागि प्रतिनिधी सभा सदस्य पदमा किशोरसिंह राठौंर र प्रदेश सभा–३ (२) मा बादशाह कुर्मी नै उपयुक्त उम्मेदवार रहेको बताए । जिल्लादेखी केन्द्रसम्म पहुँच रहेका नेतालाई जिताएपछि विकासका योजना ल्याउन सहज हुने उनको भनाई छ ।