कोहलपुर २४ कार्तिकः आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य पदका उम्मेदवारहरुले बाँकेमा अपांगता भएका व्यक्तिहरुहरुको अधिकारलाई स्थापित गर्ने सवालमा प्रतिबद्धता जनाएकाछन् ।
अपांग सशक्तिकरण तथा सञ्चार केन्द्र डेक नेपालको आयोजना तथा ओपन सोसाइटी फाउण्डेसनको सहयोगमा बाँकेको कोहलपुरमा बुधवार भएको अर्थपूर्ण प्रतिनिधित्व तथा सहभागिताका लागि जवाफदेहिता कार्यक्रम अन्तर्गत ‘अपांगता भएका व्यक्तिहरुबीच उम्मेदवार’ कार्यक्रममा सहभागि भएका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डामा अपांगता भएका व्यक्तिहरुको सवाललाई पनि प्राथमिकता दिएको बताए ।
नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठोरले आफ्नो मताअधिकारको उपयोग गर्न सबैलाई आव्हान गरे । अहिलेको संबिधानले अपांगता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गरेको भन्दै त्यसको कार्यान्वयन महत्वपूर्ण भएको बताए ।
‘संबिधान पूर्ण हुँदैन’ उनले भने–‘भएका उपलब्धिलाई संस्थागत गर्ने हो । अपांगता भएका व्यक्तिहरुको अधिकार नसमेटिएको पनि हुनसक्छ त्यसलाई आवश्यकता अनुसार थप्दै जानुपर्छ ।’ नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधिसभाका उम्मेदवार सूर्य ढकालले अपांगता भएका व्यक्तिहरुको जिविकोपार्जनको सवाल अहिलेको प्रमुख एजेण्डा रहेको बताए ।
उनले अपांगता भएका व्यक्तिहरुलाई रोजगारी र आर्थिक आयआर्जनका सवाललाई आफु र आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाएको बताए ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नम्बर–३ ‘क’ का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले राजनीतिक आन्दोलनमा अपांगता भएका व्यक्तिहरुको सवालमा पार्टी चुप लागेर नबस्ने बताए ।
उनले अपांगता भएका व्यक्तिहरुलाई अब भत्ता भन्दा पनि रोजगारी दिनु पर्ने बताए । ‘अपांगता भएका व्यक्तिहरुका लागि अव भत्ताको व्यवस्था गर्नु हुदैन उनले भने–‘जिविन निर्वाहका लागि रोजगारीको ग्यारेन्टी गरिनु पर्छ ।’
उनले आफु निर्वाचित भए अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चिताका लागि आयोग गठनको प्रतिबद्धता जनाउँदै अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताले मात्रै उनीहरुको हकअधिकार सुनिश्चित हुने पनि बताए ।
यस्तै कार्यक्रममा एमालेबाट बाँके क्षेत्र नम्बर–३ ‘क’ का प्रदेशसभा सदस्य पदका उम्मेदवार रत्न खत्री, एकिकृत समाजवादीका तर्फबाट बाँके क्षेत्र नम्बर– १ का प्रदेशसभा समानुपातिक पदका उम्मेदवार रामकृष्ण विक लगायतले पनि अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिताका लागि प्रतिबद्धता जनाएको डेक नेपालका अभियान्ता धिरेन्द्र विकले जानकारी दिए ।
कार्यक्रममा अपांगता अभियान्ता वीरेन्द्रराज पोख्रेल, देविदत्त आचार्य, गणेश पाण्डे, दोभाषे दीपाकुमारी थापासहित दुई सय जनाको उपस्थिति रहेको थियो ।