बाँके(बैजनाथ) २५ कातिक : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री एवम् बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् ।
बाँके क्षेत्र नम्बर–३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले यस्तो बताएका हुन् । ‘संबिधान बचाउन र यो देशमा विकास तथा समृद्धि ल्याउनका लागि नै पाँच दलबीच गठबन्धन बनेको हो,’ उनले भने ‘संबिधानलाई जोगाउने हो र विकास तथा समृद्धि चाहिने हो भने यही गठबन्धनलाई आउँदो निर्वाचनमा जिताउन जरुरी छ ।’
एमालेका अध्यक्ष केपीशर्मा ओलीले सत्ताको नेतृत्व गर्दा दुई पटक संसद् विघटन गरेको ईतिहास जनतालाई राम्रोसँग थाहा भएकाले एमालेलाई मतदान गरेर जनताले गल्ती नगर्ने उनको विश्वास छ । बाँकेको क्षेत्र नम्बर–३ को विकास गर्नकै लागि आफु चुनाव लडेको नेता राठौरले प्रष्ट्याए ।
नेपाली काँग्रेसले नेतृत्व गरेको बैजनाथ गाउँपालिका अध्यक्षको विशेष पहलमा भुमिहिन, सुकुम्बासीका लागि मालपोत कार्यालय बाँकेले आवश्यक प्रक्रिया अगाडी बढाइसकेको उनले बताए । सो क्रममा अधिकांस मतदाताले बाँके क्षेत्र नम्बर–३ को विकासका लागि राठौरको उम्मेदवारी आवश्यक रहेको प्रतिक्रिया दिएका थिए ।