नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट, टिकट विक्री सुरु


नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट, टिकट विक्री सुरु

नेपालगन्ज २५ कार्तिकः मानवसेवा आश्रमको भवन निर्माण एवंम अक्षय कोष स्थापनार्थ नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुने भएकोछ । नेपथ्यका फ्यानहरुका लागि यो खुशीको खबर हो किनभने करिब एक दशक बढी समयपछि नेपथ्यको नेपालगन्जमा लाइभ कन्सर्ट हुन लागेको हो ।

विगत एक दशकदेखि सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमले नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट गर्न लागेको छ । नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रममा आश्रितको स्वास्थ्य उपचार तथा आपतकालिन अक्षयकोष स्थापना गर्नका लागि नेपालगन्जसहित देशका १० शहरहरुमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम मङ्सिर २९ गते नेपालगन्ज रङशालामा हुने मानवसेवा आश्रम नेपालगन्जकी सिर्जना ओलीले जानकारी दिइन् । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् । नेपथ्य ब्याण्डले यसअघि विभिन्न देश परिवर्तनका नाराहरुसहित कार्यक्रम गर्दै आइरहेकोमा सन् २०२२ मा हुने यस यात्रालाई मानवताका लागि संगीत यात्रा २०२२ नाम दिएको छ ।

सोही सिलसिलामा मानवसेवा आश्रमले शुक्रबार बाँकेका पत्रकारसंग छलफल समेत गरेकोछ । आश्रमकी सिर्जना ओलीले आश्रमको भवन निर्माण तथा अक्षय कोष स्थापनाका लागि लाइभ कन्सर्ट गर्न लागेको जानकारी दिइन् ।

Kids Festival 2022
kanti aarogya hospital

उनले नेपथ्यको लाइभ कन्र्सटलाई मानवताका लागि सांगीतिक यात्रा नामा दिइएको बताईन । परोपकारी तथा मानव हितका लागि भन्दै नेपथ्य र नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले पनि यो सांगतिक यात्रा तय गरेको बताईन ।

उनले यो सांगीतिक कार्यक्रमबाट मानव आश्रमको भवन र अक्षय कोष स्थापना गर्ने भएकाले कार्यक्रम सफल पार्न सबैको साथ र सहयोगको अपेक्षा राखिन् । सोक्रममा उपस्थित पत्रकारहरुले सांगीतिक कार्यक्रम सफलताका लागि आफ्ना राय, सुझाव समेत दिएका थिए ।

मानव सेवा आश्रमको बाँके, नेपालगन्ज १९ औँ जिल्ला शाखा हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, आदर्शनगरमा रहेको आश्रमको संरक्षणमा ४ बालक, १ बालिका, १ महिला र २१ जना पुरुष गरी २७ जना सहयोगापेक्षी व्यक्तिहरु रहेकाछन् ।

यहि वर्षको असार २५ गते औपचारिक रुपमा भाडाको घरमा शाखा उद्घाटन भइ सेवा सञ्चालन गरेको आश्रमले बाँके जिल्ला र यसको आसपासका छिमेकी जिल्लाहरुबाट निरन्तर उद्धार कार्य गर्दै आइरहेको छ । नयाँ शाखा भएकोले आश्रम सञ्चालनका लागि दाताहरुसम्म पुग्न केही कठिनाइका बाबजुद आगामी दिनमा वृहत्तर सेवा प्रवाह गर्ने उद्देश्य आश्रमले प्रस्तुत गरेको छ ।

यसै उद्देश्य अनुरुप मानव सेवा आश्रमको भवन निर्माणका लागि समाजसेवी जयकेश बहादुर सिंह र उनको परिवारका तर्फबाट डुडुवा गाउँपालिका वडा नम्बर–६ मा जग्गा प्रदान गरिएकोछ । सोहि जग्गामा आश्रमको भवन निर्माण कार्यलाई सुरुवात गर्नका लागि नेपथ्य ब्याण्डसँगको सहकार्यमा नेपालगन्जमा नेपथ्य लाइभ कन्सर्ट हुने भएको हो ।

एक हजार रुपैँया रहेको कार्यक्रमको टिकट मानवसेवा आश्रमको शाखा वा अनलाइनमा थुपै्र डटकम (thuprai.com/nepathya)  र इसेवा (esewaevents.com) बाट प्राप्त गर्न सकिने छ ।