नेपालगन्ज २५ कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–११ का स्थानीयले प्रदेश सभा सदस्य पदका उम्मेदवार सुरेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको मात्र नभएर सबैका उम्मेदवार भएको बताएका छन् । हमाललाई काँग्रेसको उम्मेदवार भन्नुभन्दा पनि हाम्रा उम्मेदवार भनेर भोट दिनुपर्ने उनीहरुको भनाई छ ।
नेपालगन्ज वडा नम्बर– ११ मा मतदाता भेटघाट गर्न पुगेका हमाललाई जितको शुभकामना दिदैं आफ्नो भोट हमाललाई भएको बताए । कम बोल्ने र धेरै सुन्ने काम गर्ने उम्मेदवारका रुपमा चिनिने हमालका समर्थक यो वडामा धेरै भएको वडा नम्बर–११ कि वडा सभापति ऋचा द्विवेदीले बताईन् । पछिल्लो समयमा नेता कार्यकर्ता लगायत क्रियाशिल सदस्यहरु पनि तात्तिएपछि हमालको पक्षमा नै माहोल बलियो बन्दै गएको उनले सुनाईन् ।
‘हाम्रो वडामा त्यसरी आत्तिनुपर्ने अवस्था छैन, उम्मेदवारसँगै घरदैलो गर्ने र भोलीबाट वडाका क्रियाशिल सदस्य तथा स्थानीयहरु आफै घर–घरमा जाने र रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छौं,’ द्विवेदीले भनिन् ।
उम्मेदवार हमालले नेपालगन्ज वडा नम्बर–११ मा घरदैलो गर्ने क्रममा जनताको माग अनुसार काम गर्ने प्रतिवद्धता जनाए । उनले शुक्रबार बिहान पनि वडा नम्बर–५ मा मतदाताका घर–घरमा गएर रुख चिन्हमा मतदान गरी आफुलाई जिताउन आग्रह गरेका थिए ।