‘यसपटक काँग्रेसलाई विश्वास गर्नुस्, हामी धोका दिन्नौं’ : उम्मेदवार राठौर


‘यसपटक काँग्रेसलाई विश्वास गर्नुस्, हामी धोका दिन्नौं’ : उम्मेदवार राठौर

बैजानाथ (बाँके) २६ कार्तिक: नेपाली काँग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौरले बाँके क्षेत्र नम्बर ३ मा यसपटक जनताले काँग्रेसलाई विश्वास गरेमा धोका नपाउने बताएका छन् ।

बैजनाथ गाउँपालिका वडा नम्बर– ३ स्थित एलबी चोकमा आयोजित चुनावी कार्यक्रमलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले काँग्रेस सहित गठबन्धनका उम्मेदवारले जनताको अमुल्य मतलाई खेर जान नदिने प्रतिवद्धता जनाए ।
‘हामीलाई एक चोटी विश्वास गर्नुस्, धोका पाउनु हुनेछैन, मैले आफ्नो राजनीतिक जीवनको ४० वर्षमा कसैलाई झुठो बोलेको छैन, ढाँटेको छैन, ठगेको छैन, म झुठो नबोल्ने, नढाट्ने नेतामा पर्छु,’ उनले भने । विगत १० वर्षसम्म एमालेले क्षेत्र नम्बर–३ का जनतालाई धोका मात्रै दिएको प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार राठौंरले बताए ।

‘दश वर्षसम्म एमालेले धोका दियो तपाईहरु विश्वास गर्नुभयो, हामीलाई तपाईहरुले यो पटक विश्वास गर्नुस्,’ उनले भने ‘पाँच वर्षभित्रमा सुकुम्बासीको ब्यवस्थापन मैले गर्न सकेन भने म चाही अर्को चोटी भोट माग्न आउँदैन भनेको छु ।’ आफुले चुनाव जितेपछि पुर्जा नपाएका सुकुम्बासीलाई पाँच वर्षभित्रमा पुर्जा दिलाउने बताए । पुर्जा दिलाउन नसके अर्को पटक मत माग्न नआउने प्रतिबद्धता जनाए ।

क्षेत्र नम्बर–३ मा स्थानीय सरकार काँग्रेस र गठबन्धनलाई जिताएकोमा धन्यवाद दिदै प्रतिनिधी सभा र प्रदेश सभामा पनि काँग्रेससहित गठबन्धनलाई जिताएर पठाएमा विकासले फड्को मार्ने बताए । ‘हिजो तपाईहरुलाई धोका दिने, जनताको काम नगर्नेलाई बदला लिने बेला यो हो, यतिबेला तपाईहरुले बुद्धि पुर्याउनु भएन, ढंग पुर्याउनु भएन भने पाँच वर्ष लाग्छ,’ उनले भने ।

Kids Festival 2022
kanti aarogya hospital

काँग्रेसले दलित, जनजाती, मधेसी, मुस्लिम, महिला, अल्पसंख्यक लगायत समुदायको अधिकारका लागि राणा र राजासँग लडेको बताए । मतदान गर्दा एक पटक गहिरिएर सोच्नुपर्ने उम्मेदवार राठौंरले सुझाव दिए । ‘मत त्यसै दिने होईन, तपाईहरु जसरी आफ्नो छोरी, बहिनीको कन्यादान गर्नुहुन्छ, त्यस्तै सोचेर मतदान गर्ने हो, मत दिदाँखेरी भोली यसले हाम्रो काम गर्छ कि गर्दैन, त्यो सबै कुरा सोच्नुपर्छ,’ उनले भने ।

उक्त सभालाई सम्बोधन गर्दै प्रदेश सभा–३ (१) का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारले एमाले भन्ने पार्टीको अस्तित्व समाप्त हुने क्रममा रहेको बताए । ‘स्थानीय तहको निर्वाचनमा एमालेको टाउको फुटिसक्यो, अब यो निर्वाचनमा एमाले भन्ने पार्टीलाई खोज्दा पनि नभेटिन सक्छ,’ उनले भने ‘बिचराहरु आजभोली त चोर बिरालो जस्तो गरेर घर घरमा सुटुक्क पस्दा रहेछन् ।’

काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौर राजनेता भएको र क्षेत्र नम्बर–३ को विकास गर्नमा अब कुनै समस्या नहुने बताए । ‘किशोर दाईले चुनाव जितेपछि क्षेत्र नम्बर–३ मा विकासको लहर आउँछ, उहाँले योजना आयोगमार्फत बजेट पठाउनु हुन्छ, यहाँका जनताले विकास पाउँछन्,’ उनले भने ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले क्षेत्र नम्बर–३ मा विकासप्रेमी नेता किशोरसिंह राठौर र दलबहादुर सुनार चुनाव लडिरहेको अवस्थामा मतदान गर्दा जनताले विवेक प्रयोग गर्नुपर्ने बताए । ‘प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा काँग्रेस सहित गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराएपछि विकासका काम गर्न सहज हुने बताए ।

बैजनाथ गाउँपालिकामा आफु आईसकेपछि सुकुम्बासी समस्या समाधानका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको बताए । जग्गाको लालपुर्जा तयार गर्न फाईललाई सिफारिस गरेर मालपोत कार्यालयमा पठाईसकिएको जानकारी दिए । सो क्रममा प्रतिनिधी सभाका समानुपातिक सांसदका उम्मेदवार आशा बिक, प्रदेश सभाका समानुपातिक सांसदका उम्मेदवार बिनोद थारु र सुशिला नेपाली (बादी) लगायत सहभागी भएका थिए ।