बाँके–२ मा राणा, बर्मा र हमाल परिणाम ल्याउने कसरतमा


बाँके–२ मा राणा, बर्मा र हमाल परिणाम ल्याउने कसरतमा

नेपालगन्ज २९ कार्तिक : बाँके, क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवार सुदिप नरसिंह राणा, प्रदेश सभा–२ (१) का उम्मेदवार राजकुमार बर्मा र प्रदेश सभा–२ (२) का सुरेन्द्रबहादुर हमाल मंसिर ४ गतेका लागि निर्वाचन परिणाम ल्याउने अन्तिम कसरतमा जुटेका छन् । तीनै जना उम्मेदवारहरु आफ्नो निर्वाचन क्षेत्रमा अहिले मतदाता भेटघाट तथा घरदैलोमा ब्यस्त भएका हुन् ।

प्रतिनिधी सभाका उम्मेदवार राणाले मंगलबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ का मतदातालाई भेट गरेका छन् । प्रदेश सभा–२(२) का उम्मेदवार हमालले पनि राणासँगै घरदैलो गरेर मतदान गर्न मतदातालाई आग्रह गरे ।

प्रदेश सभा–२ (१) का उम्मेदवार बर्मा पनि आफ्नो निर्वाचन क्षेत्र नेपालगन्ज र डुडुवाका वडाहरुमा ब्यस्त भइरहेका छन् । तीनै जना उम्मेदवारको चुनावी माहोल पछिल्लो समयमा निकै सकारात्मक बनेको काँग्रेस क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ताले बताए ।

क्षेत्र नम्बर–२ मा विकासको नेतृत्व गर्न र जनताका समस्या सम्बोधन गर्न सक्ने उम्मेदवारलाई नेपाली काँग्रेसले अगाडी सारेकाले निर्वाचनमा जनताले विश्वास गर्ने सभापति गुप्ताको अपेक्षा छ ।

Kanti Aarogya Hospital Nepalgunj

प्रतिनिधी सभाका उम्मेदवार राणा लामो समयदेखी राजनीति र समाजसेवामा लागेका ब्यक्ति हुन् । यस्तै राजनीति र खेल क्षेत्रबाट उचाईमा पुगेको परिचित अनुहार हो, सुरेन्द्रबहादुर हमाल । यसैगरी बर्मा पनि राजनीति र समाजसेवामा सक्रिय ब्यक्ति हुन्् ।

नेपालगन्ज–४ मा मंगलबार मतदाता भेटघाटका क्रममा स्थानीयले काँग्रेस उम्मेदवारहरुसँग क्षेत्र नम्बर २ को विकासको नेतृत्व गर्न आग्रह गरेका थिए । ‘हामीले आफ्नो वडामा तयारी पूरा गरिसकेका छौं, अहिले पनि व्यापक प्रचार–प्रसारमा छौं, वडामा साना–साना छुट्टा–छुट्टै समूह बनाएर घर–घरमा गएर रुख चिन्हमा मतदान गर्न वडाका मतदातालाई आग्रह गरिरहेका छौं,’ स्थानीयले भने ‘सबै बाट सकारात्मक प्रतिक्रिया आएको छ ।’

सो क्रममा उम्मेदवार हमालले अघिल्लो कार्यकालमा आफुले गरेका कामका आधारमा भोट मागिएको बताएका थिए । अघिल्लो पटक हमालले धेरै विकासका काम गरेको बताउँदै अब भित्री सडक, बिजुली बत्ती लगायत सामाजिक काम, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र लक्षित वर्गलाई सम्बोधन गरिने बताए ।

यस्तै प्रतिनिधी सभाका उम्मेदवार राणाले क्षेत्र नम्बर–२ मा केही नयाँ काम गर्नका लागि जनताको माझमा आएको सुनाए । ‘बाँकेको क्षेत्र नम्बर २ का लागि म परिचित ब्यक्ति हुँ, मैले अहिलेसम्म पार्टीको राजनीति गरे, यो क्षेत्रको सांसदको जिम्मेवारी पाए भने यहाँको विकासको नेतृत्व गर्नेछु,’ राणाले भने ।