नेपालगन्ज २९ कार्तिक : नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान मेयर डाक्टर धवल शमशेर राणा यो पटक संसदीय चुनावी मैदानमा छन् । नेपालगन्जको राजनीतिका पुराना खेलाडी मानिने धवल एमालेलाई साथमा लिएर राप्रपाबाट चुनाव लड्दैछन् ।
उनी पहिलो पटक संसदीय चुनावी मैदानमा आएका भने होइनन् । २०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ हाँकेका राणा २८ वर्षपछि फेरि दोस्रो पटक चुनावी मैदानमा ओर्लेका हुन् ।
२०५१ सालको आम चुनावमा उनी ‘स्वतन्त्र उम्मेदवार’ भएर संसदीय चुनाव लडेका थिए तर, पराजित भए । २०५४ मा एमालेमा प्रवेश गरेर नेपालगन्जको मेयर बनेका धवल २०७४ मा राप्रपाबाट विना गठबन्धन उपमहानगरको नेतृत्वमा आएका थिए । ‘नेपालगन्ज बनाएँ, अब नेपाल बनाउँछु’ भन्दै भोट मागिरहेका उनलाई संसद छिर्न सहज भने छैन ।
यो निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगन्जका २१ वटा र डुडुवा गाउँपालिकाका ६ वटा वडाहरू पर्दछन् । स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा काँग्रेस र माओवादी केन्द्रको गठबन्धन अगाडि देखिन्छ ।
गठबन्धनबाट काँग्रेसका उम्मेदवार सुदिप नरसिंह राणा छन् । गठबन्धनका उम्मेदवारहरूले स्थानीय तहको निर्वाचनमा करिब २५ हजार मत ल्याएका थिए । राप्रपा र एमालेको मत करिब साढे २३ हजार मत देखिन्छ । यसमा एमालेभन्दा राप्रपाको मत लगभग आधा जतिमात्रै छ ।
धवललाई सुदीपको मात्रै नभई पूर्वमन्त्री मोहम्मद इस्तियाक राईकोसमेत पनि चुनौती छ । २८ वर्षमा सांसद भएर ३१ वर्षमै मन्त्री भएका इस्तियाक छोटो समयमै राजनीतिक यात्रामा ठूलै फड्को मारेको नेताको रुपमा परिचित छन् । ०६४ पछिका हरेक चुनाव लडेका इस्तियाक संसदीय राजनीतिको जोड घटाउमा अब्बल देखिएका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा नजिते पनि इस्तियाकले २०७४ सालको निर्वाचनमा उनले दुई गठबन्धनका बीचबाट आफूलाई स्थापित गरेका थिए । त्यो बेला एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले पशुपति दयाल मिश्रलाई समर्थन दिएको थियो । काँग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई सघाएको थियो । एक्लै चुनाव लडेका राईले दुवैलाई पराजित गरेका थिए ।
यसपालि पनि दुई गठबन्धनलाई चुनौती दिइरहेका इस्तियाक धवलको संसद यात्राको बाधक बन्न सक्छन् । डाक्टर राणाले चुनाव जित्न एमाले र राप्रपाको मत जोगाउन मात्रै होइन विपक्षी गठबन्धन र अन्य स्वतन्त्र मत समेत तान्न सक्नुपर्छ । –अनलाईनखबरबाट