यस कारण जित्दैछन्–राठौर
शुक्रऋषि चौलागाई
नेपालगन्ज २९ कार्तिक : किशोरसिंह राठौर, नाम नै काफी छ । राजनीतिमा उनको थप परिचय गराइरहनु पर्ने हैन तथापि उनका बारेमा गरिने सतही मूल्यांकन(बतासे अनुमान) ले भने कहिलेकाहीँ दिग्भ्रमित गर्ने अवस्था सिर्जना गरिरहेको देखिन्छ । मानवीय कमजोरी या स्वभावजन्य गल्तीहरु कसमा हुन्न र ! तर, तिनै बोली, व्यवहारलाई हेरेर समग्र मूल्यांकन गरिदिनु, बुझिदिनु पनि अन्याय हुन जान्छ ।
हरेक व्यक्ति फरक हुन्छ । धेरैले धेरै कुराहरु मनभित्रै राख्छन्, सित्तिमित्ति ओकल्दैनन् । त्यसमाथि सार्वजनिक व्यक्तिले धेरै कुराहरु सहनुपर्छ भन्ने सोँच पनि छ तथापि कतिपय यस्ता पनि हुन्छन्–जसले मनमा लागेको कुरा फ्याट्ट भन्दिछन् । ठाडै मुखमै बोल्दिने गर्छन् । त्यसै मध्येका एक हुन्–किशोरसिंह राठौर ।
मन नपरेको कुरा ठाडै भन्दिने । बनावटी कुरा गर्न पनि नजान्ने । औषधि खाँदा तितो नै लाग्छ तथापि त्यसको फाइदा त यहाँ भनिरहनु नपर्ला । ठ्याक्कै किशोरसिहं राठौरका कुरा पनि झ्वाट्ट सुन्दा त्यस्तै लाग्छन् तर, विस्तारै बुझदै जाँदा, अवलम्वन गर्दै जाँदा औषधि सरह लाग्छन् । हो, तिनै किशोरसिंह राठौर यतिबेला चुनावी मैदानमा छन् ।
नेपाली काँग्रेसका सहमहामन्त्री राठौर अहिले बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । बाँके र बर्दियालाई केन्द्रविन्दुमा राखेर पार्टी राजनीति गरिरहेका उनी यसपटक बाँके क्षेत्र नम्बर–३ बाट गठबन्धनका साझा उम्मेदवार हुन् । लुम्बिनी प्रदेशमा कांग्रेसबाट एक मात्र पदाधिकारी राठौर प्रत्यक्षतर्फ संसदको यात्रा तय गर्ने क्रममा छन् ।
नेपालगन्ज घर भएका राठौर पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले नेपालगन्जबाट चुनाव लडिरहकाले बर्दियाको राजापुर क्षेत्रलाई चुनावी क्षेत्र बनाएर राजनीति गरिरहेका थिए । तर, यसपटक गठबन्धनमा बर्दिया–२ माओवादीलाई परेपछि उनी बाँके क्षेत्र नम्बर–३ बाट चुनाव लड्दैछन् ।
नेता राठौरको टिकट निश्चित भएपछि बाँकेमा एक खालको खैलाबैला भयो । आफ्नै पार्टीका आँकाक्षीहरुबीच पनि एक प्रकारको अन्यौलता र निराशा जस्तो देखियो । तर, सहमहामन्त्री राठौरको केही दिनको नेपालगन्ज बसाई, भेटघाट र सक्रियतापछि त्यो निराशा आशा र भरोशामा परिणत हुँदै गयो ।
स्थानीय क्षेत्रकै नेतालाई टिकट नदिएर पार्टीले ठीक गरेन कि ? भन्ने झिनो मत विस्तारै मत्थर हुँदै मात्र गएन, ती सबै आंकाक्षीहरु अहिले काँधमा–काँध थापेर प्रचारप्रसारमा डटेका देखिन्छन् । यसअघि यस्तो खालको नेताहरुबीचको एकता र सहकार्य नदेखेका काँग्रेस कार्यकताहरु भन्छन्–‘यसपाली अभूतपुर्व एकता देखिएको छ, यो नै हाम्रो जीत हो ।’ खरो स्वभावका राठौरको संगठन निर्माण, नेता/कार्यकता परिचालन र आवश्यक निर्देशनले समेत माहोल काँगे्रसको पक्षमा जाँदैछ । सुशील दाईको निधन पछि टुहुरा सरह भएको महसुस गरिरहेका काँग्रेसीहरुले यतिबेला अभिभावकत्व पाएको महसुस गर्दैछन् ।
क्षेत्र नम्बर–३ बाट चुनावमा होमिइरहँदा उनीमाथि एउटा सवाल पनि उठाइयो–‘टुरिष्ट’ नेता । बर्दिया छाडेर बाँके आए तर, त्यो सत्य हैन । उनकै भनाई जस्ताको तस्तै–‘सुशील दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले बर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । सदरमुकामसँग, मुलुकसँग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पुल बनेको छ । त्यहाँको बाटो, सिंचाई र तटबन्ध लगायत जति विकास भएको छ । त्यो मेरै नेतृत्व र पहलमा भएको हो । तर, यसपाली गठबन्धनका कारण मैले राजापुर क्षेत्र छाड्नु परेको हो ।’
यहाँ बुझ्नुपर्ने कुरा यो छ कि, उनले चाहेको भए राजापुर क्षेत्रमै अडिग रहन सक्थे तर, पार्टीको निर्णयलाई नै सर्वोपरी ठान्ने हुनाले उनले बाँके क्षेत्र नम्बर–३ सहर्ष स्वीकारे । नेपालगन्ज फुल्टेक्राका स्थानीयबासी किशोरको परिवार ६० वर्ष पहिले नै नेपालगन्जमा आएको हो । नेपाली नागरिक जोसुकै किन नहोस् जहाँबाट पनि उठ्न पाउने संवैधानिक अधिकार छ ।
बाँके–बर्दियालाई आफ्नो राजनीतिक क्षेत्र बनाएका उनले पार्टीको संगठन सुदृढीकरण र विकासमै केन्द्रित गरेका छन् । झुठो कुरा पटक्कै नरुचाउने उनी जे गर्न सक्ने हो त्यही मात्रै बोल्छन् । ठूल्ठूला विकास निर्माण र योजनाका भाषण पनि गर्दैनन् । मीठा आश्वासन दिन पनि जान्दैनन् । जनताको वास्तविक माग के हो, त्यो सुनेर, बुझेर मात्रै बोल्छन् । ‘नेताले गर्न सक्ने काम गर्छौं भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो –उनको सुझावयुक्त भनाई पनि छ । अहिले सो क्षेत्रमा नियमित घर दैलो, कोण सभा भइरहेका छन् । उनका आफ्ना छुट्टै योजना छैनन्, जनताकै एजेण्डा नै उनका मुख्य एजेण्डा हुन् ।
बाँके क्षेत्र नम्बर–३ नेपालगन्जको काखमा रहेर पनि पछाडि परेको र विकासको मूल प्रवाहमा आउन नसकेको क्षेत्रका रुपमा रहेको उनको बुझाई छ । सो क्षेत्र दलित, अल्पसंख्यक आदिवासी, मधेशी, मुस्लिम लगायत मिश्रित समुदाय बसोबास क्षेत्र हो । १० वर्षदेखि एमालेले जितेको क्षेत्र नम्बर–३ को अपेक्षाकृत विकास हुन नसकेको उनको बुझाई छ । तथापि अब आफूले जितेमा सो क्षेत्रको समग्र विकास गर्ने संकल्प गरेका छन् । भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उनको योजना छ । कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रको विकास पनि जरुरी देख्छन्–उनी ।
केन्द्रसँग सोझै पहुँच राख्ने नेता राठौरले भौतिक पूर्वाधारको विकास गर्ने र आफ्नै क्षेत्रमा बस्न सक्ने वातावरण बनाउने बताएका छन् । नेपालगञ्ज र कोहलपुरमा घर बनाएर त्यहाँ बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने उनको पवित्र सोच छ । उनकै पहलमा धम्बोझीदेखि राजापुरसम्म फोरलेन सडकको विस्तार हुँदैछ । परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने, बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने पनि उनको प्रतिवद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने, मानखोलामा तटवन्ध गर्ने लगायतका योजना पनि तय गरिएका छन् । कृषिको सम्भाव्य क्षेत्र भएपनि गति पाउन नसकेकोमा उनी चिन्तित छन् । सिक्टा सिंचाईको विस्तार गर्ने पनि उनको तयारी छ । निर्वाहमुखी खेतीलाई व्यवसायिकतासँग जोड्नु आवश्यक देख्छन्–उनी । सुकुम्वासी समस्या समाधानको दीर्घकालीन पहल गर्ने उनको महत्वपूर्ण योजना छ ।
केन्दिीय नेता पाउँदा आममतदाता उत्साही भइरहेका छन् तथापि नेकपा माओवादी भित्रको विवाद (उम्मेदवार)ले नतिजामा असर पार्ने हो कि भन्ने झिनो आशंकायुक्त चिन्ता पनि छ । तर, राठौर भन्छन्–‘हामीलाई असर नगरोस् भनेर हामी सबै सचेत छौं । त्यो उहाँहरुको आन्तरिक द्वन्द हो, त्यसलाई मिलाउनुस् भनेका छौं ।’ गतिलो नेता नपाएको यो क्षेत्रमा अब आफूले त्यो परिपूीर्त गर्ने बताउँछन् ।
आम जनताको जुन उत्साह, भरोसा र विश्वास छ, त्यसलाई कुनै पनि हालतमा मर्न नदिने उनको दृढ संकल्प छ । क्षेत्र नम्बर ३ का जनताले फगत सांसद मात्रै हुनेलाई रोज्लान् कि सम्भावना बोकेको केन्द्रीय नेतालाई रोज्लान्, यो सहजै अनुमान गर्न सकिन्छ । स्थानीय चुनावको अंकगणितलाई नियाल्दा पनि राठौरको जीत निश्चित छ । लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा, स्थिर सरकार र समृद्धिका लागि पनि काँगे्रसलाई जिताउनु बाहेकको विकल्प नरहेको उनको भनाई छ ।
यस कारण जित्दैछन्–राठौर
- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतसँगको संयुक्त गठबन्धन हुनु र मतदाता संख्या नै धेरै हुनु ।
- काँग्रेसको केन्द्रिय नेता र केन्द्रमा पहुँच भएको शक्तिशाली व्यक्तित्व हुनु ।
- यसअघि निर्वाचित अन्य पार्टीका सांसदले काम गरेर देखाउन नसक्नु ।
- काँग्रेसभित्रको सांगठनिक एकता र कार्यकर्ता उत्साही देखिनु र सशक्त प्रचारप्रसार हुनु ।
- सरकारको नेतृत्व फेरि पनि काँगे्रसले नै गर्ने प्रवल सम्भावना र मन्त्री पाउने सम्भावना ।
- विकास निर्माणका लागि केही गर्न सक्छन् भन्ने मतदातामा विश्वास जागृत हुनु ।
- प्रतिष्पर्धीहरु हतोत्साही र कमजोर देखिनु ।
- थारु, मुस्लिम, मधेशी र दलित मत पनि एक ढिक्का भएर रुखमा मत हाल्ने वातावरण बन्नु ।
को हुन् किशोर ?
२०२६ वैशाख १५ गते सल्यान बडागाउँमा जन्मिएका किशोर २०४१ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध भएका हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाउँदै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् । हक्की स्वभावले सबै माझ परिचित राठौर त्रिचन्द्र क्यापसको स्ववियु सचिव हुँदै सभापति समेत बन्न सफल भए ।
नेविसंघको सहमहामन्त्री हुँदै केन्द्रिय अध्यक्षको सशक्त भूमिका निर्वाह गरिसकेका छन् । राठौर नेविसंघको नेतृत्व तहमा मात्र मात्र पुगेनन्, विद्यार्थी र यूवाहरुको ढुकढुकी बन्न सफल भए । विद्यार्थी राजनीतिकालीन समयमा विद्यार्थीहरुको आशा, भरोसा र विश्वासका धरोहर राठोर कहिल्यै थाकेनन् बरु झनै शाक्तिशाली बन्दै गए ।
राजनीतिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परेका राठौर संगठन निर्माण, नेता, कार्यकर्ता परिचालन गर्न खप्पीस मानिन्छन् । राजापुर क्षेत्रलाई केन्द्र विन्दु मानेर राजनीति गरिरहँदा उनले त्यहाँ पार्टीको संगठन निर्माण मात्र गरेका थिएनन्–सडक, पुल, सिंचाई, तटबन्धन लगायतका मुद्दा उठान र सम्वोधनको वातावरण बनाएका थिए । समानुपातिक सांसद रहिसकेका राठौर बाँके र बर्दियाका अभिभावक पनि हुन् ।
मेहनत, लगन, निरन्तरता र निष्ठाले उनको उचाई अझैं बढदै गएको छ । यही गतिमा बढ्ने हो भने उनलाई राजनीतिको शिखर व्यक्तित्व हुनबाट कसैले छेक्न सक्ने छैन भन्दा अतिशयोक्ति नहोला ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी