आफ्ना उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय


आफ्ना उम्मेदवार जिताउन काँग्रेसका महिला नेतृ सक्रिय

नेपालगन्ज ३० कार्तिक : नेपाली काँग्रेससहित पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन काँग्रेसका महिला नेतृहरु सक्रिय भएका छन् ।

आफ्ना उम्मेदवारसहित उनीहरु बिहानदेखी बेलुकासम्म घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त भएका हुन् । काँग्रेससहित गठबन्धनका उम्मेदवारलाई महिलाले खुलेरै साथ दिइरहेका छन् । बाँकेको क्षेत्र नम्बर १, २ र ३ मा महिला नेतृहरु सक्रियता पुर्वक चुनावी अभियानमा जुटेका हुन् ।

नेपाल महिला संघ बाँकेका सभापति नारायणी रुपाखेतीले काँग्रेस लगायत पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउन महिलाहरु सक्रियता पुर्वक लागेको बताइन् । ‘महिला संघले तीन वटै क्षेत्रमा महिलाहरुलाई खटाएको छ, महिलालाई घरबाट निस्कन आब्हान गरेर अभियान चलाएका छौं,’ उनले भनिन् ।

सबै महिलाहरु आ, आफ्नो निर्वाचन क्षेत्रमा परिचालित भएर उम्मेदवारसँग हिडिरहेको बताइन् । ‘घरको काम पनि हामी महिलाले गर्नुपर्छ, तर घर परिवारलाई ब्यवस्थापन गरेर पार्टीका लागि चुनावमा लागेका छौं,’ सभापति रुपाखेतीले भनिन् ।

स्थानीय तहको निर्वाचनमा जस्तै अहिले पनि चुनावी प्रचारमा महिलाको सहभागिता सक्रिय रुपले हुने गरेको बताइन् । नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार योग्य, सक्षम र निस्कलंकित भएकाले मतदान गर्न आग्रह गरिरहेको उनको भनाई छ ।

ब्यवस्था परिवर्तन गर्ने आन्दोलनदेखी हरेक निर्वाचनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको महिला नेतृ रमा उपाध्याय बताउँछिन् ।

‘महिलाहरु २०४६ सालको आन्दोलन देखी नै सक्रिय भएर लागेका छन्, २०४८ सालको चुनाव, २०५१ र २०५४ सालको चुनावमा पनि महिलाहरु होमिएका थिए, महिलाको सक्रियता कति हुन्छ भन्ने कुराको प्रमाणित सहिद सेतु बिकले गरिसक्नु भएको छ,’ उनले भनिन् ‘हामी महिलाहरु आफ्नो घर, परिवारलाई ब्यवस्थापन गरेर पनि पार्टीको राजनीतिमा सक्रिय छौं ।’ काँग्रेसले यो निर्वाचनमा पनि योग्य र सक्षम उम्मेदवार उठाएको नेतृ उपाध्याय बताउँछिन् ।