नेपालगन्ज ३० कार्तिक : राप्रपा–नेकपा एमाले तालमेलबाट बाँके क्षेत्र नम्बर– २ प्रतिनिधिसभा उम्मेदवार डा. धवल शम्शेर राणाले चुनाव जितेर पैसा कमाउने, फेरि चुनाव लड्ने र जनता किन्ने चक्रव्यूह तोड्न आफ्नो उम्मेदवारी भएको बताएका छन् ।
नेपालगन्ज–१० को गणेशमान चौकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. राणाले भ्रष्टाचार रोक्नु आफ्नो अभीष्ट रहने भन्दै आफुले पाउने तलब भत्तासमेत जनताकै लागि खर्चिने बताए ।
उनले आफू २ पटक नगरपालिकाको नेतृत्व गर्दा कुनै भ्रष्टाचार गरेको प्रमाण ल्याए आफू राजनीतिबाट बिदा हुने बताए । उनले नगरको गाउँको र देशको भविस्य सम्झेर अन्य नेताहरूको स्वभाव बुझेर मात्रै मतदान गर्न आग्रह गरे ।
उनले भने भ्रष्टाचारीहरुको मुख नलाग्ने, कटु नबोल्ने ढुंगा हान्ने होइन बाकस खाली गरे पुग्छ । उम्मेदवार डा. राणाले पहिले आफ्नो घर बनाउन जनताले पठाएकाले आफुले नमूना नगरपालिका बनाएको दावी गरे ।
अब देश जनता र क्षेत्रको सेवा गर्न उभिएको बताए । नेपालगन्ज दिल्ली उडान गेम चेन्जर हो भन्दै आफू त्यसको पहलमा लाग्ने डा. धवलले बताए । किसानको पीडा आफुले राम्रोसँग बुझेको भन्दै देशमा मलको उद्योग जरुरी रहेकोले आफू शुरुदेखी पहलमा लान्ने उनले बताए । डुडुवामा विकास कम भएकोले आफ्नो ध्यान त्यहीँ पुगेको राणाले बताए ।
उनले जनताको शीर झुकाउने काम दुबै उम्मेदवारले नगर्ने बताए । डाक्टर राणाले एमालेबाट प्रदेश ‘ख’ का उम्मेदवार निरक गुरुङको निष्कलंक यात्राको प्रशंसा गर्दै आफुलाइ जति भोट आउँछ त्यति भोट गुरुङलाई हाल्नु पर्ने बताए ।
डाक्टर राणाले अब नदोहोरिने गरी सुकुम्बासी समस्या समाधान गर्नु पर्ने धारणा राखे । कार्यक्रममा प्रदेश ‘ख’ का उम्मेदवार गुरुङले आफ्नो ४० वर्षे राजनीतिक यात्रामा जनतालाई पीर पार्ने, भ्रष्टाचार, अनैतिक काम नगरेकोले नेपालगन्जबासीले न्याय गर्ने बताए ।