आम निर्वाचन २०७९

सुरक्षाकर्मी हाई अर्लटमा : बाँकेका १०८ मतदानस्थल अतिसंवेदनशील

कार्यक्षेत्रमा खटिए कर्मचारी, ३ लाख ३२ हजार बढिले मताधिकार प्रयोग गर्दै


सुरक्षाकर्मी हाई अर्लटमा : बाँकेका १०८ मतदानस्थल अतिसंवेदनशील

File Photo

नेपालगन्ज २ मंसिर : बाँकेका ८ पालिकामा कायम गरिएका १३८ मतदान स्थलमध्ये १०८ मतदान स्थल अति संवेदनशील र ३० वटा मतदान स्थललाई संवेदनशील तोकिएको छ । मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै मतदान स्थललाई दुई भागमा वर्गीकरण गरिएकोे हो ।

जिल्लाको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन् । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले एक सय ८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताइन् । सोही मतदान स्थलमा ३ सय ८० वटा मतदान केन्द्र राखिएको प्रमुख पन्तले जानकारी दिइन् । क्षेत्र नम्बर–१ मा १ सय ३७, क्षेत्र नम्बर–२ मा १ सय १३ र क्षेत्र नम्बर–३ मा १ सय ३० वटा मतदान केन्द्र राखिएको छ ।

उनका अनुसार नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा पनि एउटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । पन्तले अगाडी भनिन्, ‘यसपटक आयोगको परिपत्र अनुसार कर्मचारी, थुनुवा, कैदी, बृद्धाश्रममा रहेका जेष्ठ नागरिक लगायतका लागि अस्थायी मतदान केन्द्रको ब्यवस्था गरिएको हो, यसअघि अस्थायी मतदान केन्द्र राख्ने ब्यवस्था थिएन ।’

Kanti Aarogya Hospital Nepalgunj

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मतदान स्थलको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सोही अनुरुप सुरक्षा संयन्त्र परिचालन गरिएको बताए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार भौगोलिक अवस्था र खुला सीमाना लगायतका कारण सुरक्षा संवेदनशीलता भए पनि जिल्लाको सुरक्षा प्रहरी नियन्त्रणमा रहेको छ ।

निर्वाचनका समयमा मतदान स्थल तथा मतदान केन्द्रसम्म जानको लागि बाटोको अवस्था, मतदान स्थल तथा केन्द्रको सुरक्षाको अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित सुरक्षा रणनीतिसहित अघि बढेको उनले बताए । उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो बनाउन कुनै कसर बाँकी नराखेको पनि बताए ।

निर्वाचन लक्षित जिल्लाको सुरक्षालाई लिएर बाँके प्रहरी हाई अलर्टमा रहेकोछ । यसका लागि रिजर्भ फोर्स २४ सै घण्टा ‘हाई अलर्ट’मा राखिएकोछ ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बाँके, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रहरी कार्यालय भगवानपुरमा रिजर्भ फोर्स ‘हाई अलर्ट’मा राखिएकोछ ।

यसका अलावा निर्वाचन केन्द्रित सुरक्षा सतर्कता बढाउँदै नेपाल–भारतका सुरक्षाकर्मी हाई अर्लटमा रहेका हुन् । उनीहरुले दशगजा क्षेत्रमा संयुक्त गस्तीलाई तिव्रता दिदैं सम्भावित गैरकानूनी गतिविधि रोक्न संयुक्त गस्ती गरिरहेका छन् । बाँकेको ६५ किलोमिटर भू–भाग भारतसँग खुला सीमा जोडिएको छ ।

कार्यक्षेत्रमा खटिए कर्मचारी

प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा सामाग्री बुझेर कर्मचारीहरु आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । जिल्लाका ३ वटा क्षेत्रमा निर्वाचन सम्पन्न गराउन ३ हजार ४० जना कर्मचारी खटिएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले निर्वाचनका लागि सबै कर्मचारीहरु सामाग्री बुझेर आफ्नो क्षेत्रमा खटिसकेको बताइन् । उनले भनिन्, ‘मतदानको तयारी अन्तिम अवस्थामा छ, सबै कर्मचारीहरु निर्वाचन सामाग्री लिएर आफ्नो क्षेत्रमा खटिसक्नु भएको छ ।’

३ लाख ३२ हजार बढिले मताधिकार प्रयोग गर्दै

निर्वाचनमा जिल्लाभर कुल ३ लाख ३२ हजार २ सय ३१ जनाले मताधिकार प्रयोग गर्दैछन् । यसमध्ये १ लाख ६८ हजार ८ सय ५३ जना पुरुष र १ लाख ६३ हजार ३ सय ६९ जना महिलाले मतदान गर्ने भएका छन् ।

बाँकेको क्षेत्र नम्बर–१ मा सबैभन्दा बढी एक लाख २१ हजार एक सय मतदाता रहेका छन् । त्यसपछि दोस्रोमा क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार ३ सय २२ तथा क्षेत्र नम्बर २ मा ९७ हजार ८ सय ९ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

उनका अनुसार बाँके प्रदेश सभा–१ (१) मा ५५ हजार ८ सय ४५ र प्रदेश सभा–१ (२) मा ६५ हजार २ सय ५५ जना मतदाता छन् ।

यस्तै प्रदेश सभा–२ (१) मा ५० हजार ३ सय १३, प्रदेश सभा–२ (२) मा ४७ हजार ४ सय ९६ मतदाता रहेका छन् ।

यसैगरी प्रदेश सभा–३ (१) मा ६१ हजार ५ सय ९६ र प्रदेश सभा–३ (२) मा ५१ हजार ७ सय २६ जना मतदाता छन् ।