नेपालगन्ज २ मंसिर : बाँकेमा कूल तीन लाख ३२ हजार दुई सय ३१ मतदाता रहेका छन् । कूल मतदातामध्ये एक लाख ६३ हजार तीन सय ६९ महिला र एक लाख ६८ हजार आठ सय ५३ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले बताइन् ।
उनका अनुसार अन्य मतदाताको सङ्ख्या नौ रहेको छ। बाँके जिल्लामा प्रतिनिधिसभामा तीन वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा क्षेत्र छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर– १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्दछन् ।
एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वाटा गाउँपालिका गरि ८ वटा पालिका रहेको बाँकेमा ३ वटा निर्वाचन क्षेत्र रहेकोछ । प्रदेशसभा क्षेत्र नम्बर–१ (क) मा नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका एकदेखि ७ नं वडा पर्दछन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) मा कोहलपुर नगरपालिका र राप्तीसोनारीका ८ र ९ नम्बर वडा पर्दछन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एक लाख २१ हजार एकसय मतदाता छन् भने प्रदेश १ (क) मा ५५ हजार आठ सय ४५ र प्रदेश १ (ख) मा ६५ हजार दुई सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाका २१ वडा (वडा नं १६ र १७ बाहेक) पर्दछन् । यसैगरी प्रदेशसभा क्षेत्र नम्बर–२ (क) मा डुडुवा गाउँपालिका र नेपालगन्जका वडा नम्बर– १३, १८, १९, २०, २१, २२ र २३ पर्दछन् ।
प्रदेशसभा २ (ख) मा नेपालगन्जका १ देखि १२ तथा १४ र १५ नम्बर वडा समेटिएका छन् । क्षेत्र नम्बर–२ मा ९७ हजार आठ सय ९ मतदाता छन् । प्रदेश २ (क) मा ५० हजार तीन सय १३ र २ (ख) मा ४७ हजार चार सय ९६ मतदाता रहेका निर्वाचन कार्यालय प्रमुख पन्तले बताए ।
प्रतिनिधिसभा क्षेत्र नम्ब–३ मा बैजनाथ, खजुरा र जानकी गाउँपालिका पर्दछन् । प्रदेशसभा ३ (क) मा बैजनाथ गाउँपालिका र खजुराका ५, ६, ७ र ८ नम्बर वडा समेटिएका छन् ।
यस्तै ३ (ख) मा जानकी गाउँपालिका, खजुराका १ देखि ४ नम्बर वडा र नेपालगञ्जका १६ र १७ नम्बर वडा समेटिएका छन् । क्षेत्र नम्बर–३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन् भने प्रदेश क्षेत्र नम्बर–३ (क) मा ६१ हजार पाँच सय ९६ र ३ (ख) मा ५१ हजार सात सय २६ मतदाता छन् ।