बाँके –२ : डा. धवलले ६८०४ मत पाउँदा इस्तियाकले ३४१३ पाए


बाँके –२ : डा. धवलले ६८०४ मत पाउँदा इस्तियाकले ३४१३ पाए

नेपालगन्ज ६ मंसिर : राप्रपाका डाक्टर धवल शम्शेर राणाले मतान्तर बढाउँदै लगेका छन् । मतगणनाको सुरुवातबाटै अग्रता लिएका डाक्टर धवलले अग्रतालाई कायम राख्दै मतान्तर बढाउँदै लगेका हुन् ।

बाँके क्षेत्र नम्बर–२ मा नेकपा एमाले–राप्रपा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राप्रपाका डाक्टर धवलले सोमबार राती साढे दश बजेसम्म गणना भएको कुल १३ हजार २ सय १३ मत गन्दा दोब्बर मतले अग्रता कायम राखेकाछन् ।

नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा भइरहेको मतगणनामा राप्रपाका डाक्टर धवललाई जनता समाजबादी पार्टी, (जसपा) नेपालका मोहम्मद इस्तियाक राईले पछ्याइरहेका छन् । त्यो पनि दोब्बर मतको अन्तरमा ।
कुल १३ हजार २ सय १३ मत गन्दा राप्रपाका धवलले ६ हजार ८ सय ४ मत प्राप्त गरेकाछन् । भने जसपाका इस्तियाकले ३ हजार ४ सय १३ मत प्राप्त गरेकाछन् ।

यसअघि सोमबार बेलुकासम्म ४ हजार २ सय ५५ मत गन्दा डाक्टर राणाले २ हजार तीन सय ४६ मत ल्याएका थिए । भने जसपाका राईले एक हजार एक सय १३ मत ल्याएका थिए । यस्तै काँग्रेसका सुदीपनरसिंह राणाले तीन सय २ मत ल्याएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी, बाँकेको प्रदेशसभा क्षेत्र नम्बर २(१) मा जसपालाई पछि पार्दै नेकपा एमालेका विजय बहादुर यादवले अग्रता लिएकाछन् ।

एमालेका विजयले २ हजार २ सय २५ मत ल्याई अग्रता कायम गरेकाछन् । भने दोस्रोमा झरेका जसपाका भण्डारीलाल यादवले २ हजार २ सय ८ मत र काँग्रेसका राजकुमार बर्माले १ हजार ७ सय १ मत प्राप्त गरेकाछन् । यसअघि यस क्षेत्रबाट जसपाका भण्डारीलाल यादवले अग्रता कायम गरेका थिए ।

यस्तै, बाँकेको प्रदेशसभा क्षेत्र नम्बर–२(२) मा जसपाका आदेशकुमार अग्रवालले सुरुवाती अग्रता लिएका छन् । उनले ६४२ मत पाएका छन् ।

नेपाली काँग्रेसका सुरेन्द्रबहादुर हमालले ४९८ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका अकलबहादुर बमले २३८ र नेकपा एमालेका निरक गुरुंगले २३७ मत पाएका छन् ।

क्षेत्र नम्बर–२ मा ९७ हजार ८ सय ९ मतदाता रहेकोमा ७६ हजार ९ सय ५० मत खसेको छ । यहाँ नेकपा एमाले–राप्रपा गठबन्धनबाट डाक्टर धवल शम्सेर राणा, सत्ता गठबन्धनतर्फबाट नेपाली काँग्रेसका सुदीपनरसिंह राणा र जसपाका इस्तियाक प्रतिस्प्रर्धामा रहेकाछन् ।

बाँके क्षेत्र नम्बर–२ को मतगणना यसअघि सोमबार १२ बजेदेखि मतगणना गर्ने भनिए पनि केहीबेरमा ढिलो गरि शुरु भएको थियो । प्रतिनिधिसभाको सुरुमा गन्ने गरी तयारी गरिएकोमा सबै एकैपटक गन्ने भनिएपछि ठाउँ मिलाउँदा ढिला भएको थियो ।