नेपालगन्ज ६ मंसिर : बाँके प्रदेश सभा– २ (क) को मतगणना रोमाञ्चक हुँदै गएकोछ । मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका जनता समाजबादी पार्टी (जसपा) नेपालका भण्डारीलाल यादव सोमबार बेलुकाको मतगणनासंगै पछि परेका थिए ।
सोमबार रातभरको मतगणनामा अग्रता लिएका नेकपा एमाले– राप्रपा गठबन्धनबाट उम्मेदवार एमालेका विजयबहादुर यादव मङ्गलबार विहानदेखि दोस्रो स्थानमा रहेकाछन् ।
सोही क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका राजकुमार बर्मा मतगणनाको सुरुवातीदेखि नै तेस्रो स्थानमा रहँदै आएकाछन् । उनले न त जसपाका भण्डारीलाललाई न त एमाले–राप्रपा गठबन्धनका विजयबहादुरलाई उछिन्न सके ।
मङ्गलबार दिउँसो १ बजे प्राप्त मत परिणाम अनुसार बाँकेको प्रदेश सभा–२ (क) मा जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवले अग्रता लिइरहेका छन् ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार भण्डारीलालले ८ हजार ३ सय ११ मत ल्याएर अग्रता लिएका हुन् ।
उनलाई नेकपा एमालेका विजयबहादुर यादवले पछ्याइरहेका छन् । विजयले ६ हजार २ सय ६१ मत ल्याएका छन् । भण्डारीलाल र विजयबीचको मतान्तर २ हजार ५० मत रहेको छ ।
यसैगरी नेपाली काँग्रेसका राजकुमार कुर्मी तेस्रो स्थानमा छन् । कुर्मीले ५ हजार ४ सय ५४ मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले ९९६, राजकुमार रौनियारले ५४२ र जनमत पार्टीका हरपालसिंह सिखले ३७२ मत ल्याएका छन् । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयमा मतगणना चलिरहेको छ ।