नेपालगन्ज ६ मंसिर : आम निर्वाचनको मिति घोषणा सगैं बहुचर्चाको क्षेत्र बनेको बाँके क्षेत्र नम्बर–२ को मतगणना पनि रोचक बन्दै गएकोछ । निर्वाचनमा होमिएका दुई ठूला हस्तीको चुनावी प्रतिस्प्र्रधा रोचक त थियो नै मतगणनामा प्राप्त गरेको मत पनि उत्तिकै चाख लाख्दो बन्दै गएकोछ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका डाक्टर धवल शम्सेर राणा, नेपाली काँग्रेसका सुदीपनरसिंह राणा र जनता समाजबादी पार्टी, (जसपा) नेपालका मोहम्मद इस्तियाक अहमद राईबीच त्रिपक्षिय चुनावी भिडन्त भएको थियो ।
निर्वाचनमा होमिएका तीनैजनाबीच प्रतिस्प्रर्धा भएपनि डाक्टर धवल र राईबीच नै कडा प्रतिस्प्रर्धा भएको थियो । चुनावमा जीत हाँसिल गर्न यी दुई शक्तिले बडो कसरत गरेका थिए ।
निर्वाचन पश्चात यतिबेला बाँकेको क्षेत्र नम्बर–२ को मतगणना नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा चलिरहेकोछ । मतगणनाको सुरुवाती चरणबाटै अग्रता कायम गरिरहेका नेकपा एमाले–राप्रपा गठबन्धनतर्फबाट राप्रपाका डाक्टर धवल फराकिलो मतान्तरले अग्रता लिइरहेकाछन् ।
मतगणनाको सुरुवाती चरणबाटै अग्रता कायम राखेका डाक्टर धवलले पुर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद इश्तियाक राईलाई ४ हजार ७ सय ९६ मतले पछाडी पारेका हुन् । यो मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको मङ्गलबार दिउँसो साढे दुईबजेसम्मको मत परिणाम हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डाक्टर धवलले अहिलेसम्म कुल १३ हजार ३ सय ५५ मत ल्याएर अग्रता लिइरहेका छन् । भने पुर्वमन्त्री राईले ८ हजार ५ सय ५९ मत ल्याएर धवललाई पछ्याइरहेका छन् ।
यसैगरी नेपाली काँग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा एक हजार ७ सय ५९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बिनोद अग्रहरीले ६ सय ४, स्वतन्त्र उम्मेदवार इरफान अहमद शेखले ४ सय ९९ र अर्का स्वतन्त्र उम्मेदवार दीवाकर खनालले २ सय ६७ मत प्राप्त गरेका छन् । नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको हलमा अहिले मतगणना कार्य चलिरहेको छ ।