बाँके प्रदेश सभा–२ : जसपाका यादव र अग्रवाल विजयी


बाँके प्रदेश सभा–२ : जसपाका यादव र अग्रवाल विजयी

नेपालगन्ज ७ मंसिर : बाँके क्षेत्र नम्बर–२ को दुईवटै प्रदेश सभा सदस्यमा जनता समाजबादी पार्टी (जसपा) नेपालका उम्मेदवार विजयी भएकाछन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई जिताउन नसकेको जसपाले प्रदेश सभा सदस्यतर्फ दुवै (क र ख) क्षेत्रमा जित निकाल्न सफल भएको हो ।

बाँके क्षेत्र नम्बर २(क)मा जसपाका भण्डारीलाल यादव र क्षेत्र नम्बर–२ (ख)मा जसपाकै आदेश अग्रावल विजयी भएका हुन् ।

जसपाका यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले– राप्रपा गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् । उनी २ हजार १४६ मतान्तरले विजयी भए ।

Kanti Aarogya Hospital Nepalgunj

जसपाका भण्डारीलालले कुल ११ हजार ५०४ मत प्राप्त गरेका थिए । भने दोस्रो स्थानमा रहेका विजयबहादुरले ९ हजार ३५८ मत पाउँदा नेपाली काँग्रेसका राजकुमार बर्माले ८ हजार ७ सय ३१ मत प्राप्त गरे ।

मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका जसपाका भण्डारीलाल सोमबार बेलुकाको मतगणनासंगै दोस्रो स्थानमा परेका थिए । सोमबार रातभरको मतगणनामा अग्रता लिएका नेकपा एमाले– राप्रपा गठबन्धनबाट उम्मेदवार एमालेका विजयबहादुर यादव मङ्गलबार विहानदेखि दोस्रो स्थानमा समेटिए थिए ।

सोही क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका राजकुमार बर्मा मतगणनाको सुरुवातीदेखि नै तेस्रो स्थानमा रहँदै आएका थिए । उनले न त जसपाका भण्डारीलाललाई न त एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजयबहादुरलाई उछिन्न सके ।

अन्तिम चरणमा स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले १४५२, राजकुमार रौनियारले ८५५ र जनमत पार्टीका हरपालसिंह सिखले ६५० मत ल्याएका छन् ।

यस्तै बाँकेको प्रदेश सभा क्षेत्र नम्बर २(ख) मा जसपाकै उम्मेदवार आदेश अग्रवाल विजयी भएकाछन् । गठबन्धनका उम्मेदवारहरु निरक गुरुङ्ग तथा सुरेन्द्र हमाललाई पछि पार्दै जसपाका अग्रवाल विजयी भएका हुन् ।

अग्रवालले कुल ८ हजार २ सय ४६ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले–राप्रपा गठबन्धतर्फका एमालेका निरक गुरुङलाई एक हजार ५ सय ३७ मतान्तरले हराउँदै विजयी भएका हुन् । एमालेका गुरुङले ६ हजार ७ सय ९ मत प्राप्त गरे । भने नेपाली काँग्रेसका सुरेन्द्र हमालले ६ हजार २ सय ४७ मत पाउँदै तेस्रो स्थानमा समेटिए ।

जसपाका अग्रवाल मतगणनाको सुरुवातीदेखि झिनो मतको लुकामारीमा थिए । काँग्रेसका सुरेन्द्र र एमालेका निरकले लिड गरिरहँदा अग्रवालले उनीहरुलाई पछ्याइरहेका थिए ।

यस्तै नेकपा (माओबादी केन्द्र) का अकल बहादुर बमले ३ हजार ६ सय ३५, स्वतन्त्र उम्मेदवारद्वय अब्दुल हकिम हलवाईले १ हजार ६८४, डाक्टर विनोद कुमार कर्ण एक हजार ३१३ र लोसपा नेपालका कौशल कुमार मिश्रले एक हजार ६९ मत प्राप्त गरे ।