बाँके–१ ‘ख’ : एमालेका दुर्गा विजयी


बाँके–१ ‘ख’ : एमालेका दुर्गा विजयी

नेपालगन्ज ९ मंसिर : नेकपा एमाले लुम्बिनी प्रदेशका उपसचिव दुर्गाप्रसाद चौधरी प्रदेश सांसदमा निर्वाचित भएका छन् । बाँकेको क्षेत्र नम्बर–१ अन्तरगत पर्ने प्रदेश सभा १ (ख)बाट उनी निर्वाचित भएका हुन् ।

निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गर्दै उनी शुक्रबार बेलुकी निर्वाचित भए । योसंगै बाँकेको तीन वटै निर्वाचन क्षेत्र अन्र्तगत सम्पन्न प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणा सार्वजनिक भएको हो ।

नवनिर्वाचित दुर्गाले १५ हजार ६ सय ५७ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार ७ सय ८० मत ल्याएका छन् ।

यस्तै नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले ५ हजार २ सय ८५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार अमरजंग शाहले २ हजार ९६ मत ल्याएका छन् । उक्त प्रदेश सभा क्षेत्रमा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

निर्वाचित दुर्गाप्रसाद २०३८ सालमा साबिक बैजापुर गाविसको बैसा गाउँमा जन्मेका हुन् । नयाँ नेपाल निर्माण गर्ने ठुलो सपना बोकेर उनी २०५३ सालमा तत्कालिन नेकपा माओवादीको ‘जनयुद्ध’ मा होमिए । उर्वर समय नै माओवादी युद्धमा बिताए ।

युद्धकै क्रममा दुर्गा माओवादी जनमुक्ती सेनाको ‘डिभिजन भाईस’ कमाण्डर सम्मको जिम्मेवारी सम्हाले । कयौं युद्धको नेतृत्व नै गरे । आफुसँगै लडेका कयौं साथीहरुलाई गुमाउँदा उनी भने बाँच्न सफल भएका थिए ।

२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि उनी माओवादी पार्टीको मुल राजनीतिमा सक्रिय भए । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले देशभर अप्रत्यासित नतिजा ल्यायो र सरकारको नेतृत्व पनि गर्यो ।

माओवादी सरकारमा पुगेपनि पुर्व जनमुक्ती सेनाका लागि माओवादी नेतृत्वको सरकारले खासै काम गर्न नसकेको भन्दै यिनै दुर्गाले पुर्वजनमुक्ती सेनालाई संगठित गर्न थाले । उनको पार्टीभित्र अन्तर संघर्ष चलिरह्यो ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी गठबन्धन भयो । चुनाव लगत्तै पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टीमा रुपान्तरण भयो । केही समयसम्म पार्टी एकिकरण चल्दा उनी माओवादीभन्दा एमालेका नेताहरुसँग नजिक हुन थाले ।

सर्बोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई अलग गराईदियो । तर, दुर्गा भने आफ्नो पुरानो पार्टी माओवादीमा फर्केनन् । एमालेमै बसेर पार्टीको राजनीतिमा सक्रिय भए । एमालेले पुर्वजनमुक्ती सेनाहरुलाई समेट्ने रणनीति बनायो ।

सोही अनुरुप दुर्गालाई पनि एमाले पार्टीले लुम्बिनी प्रदेश उपसचिव बनायो । यसपटकको निर्वाचनमा बाँके, प्रदेश सभा–१ (ख) बाट टिकट पाएका उनी लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित हुन सफल भए । जनमुक्ती सेनाको कमाण्डरदेखी दुर्गाले लुम्बिनी प्रदेशको सांसद सम्मको यात्रा तय गरेका छन् ।