नेपथ्य लाइभ कन्सर्टको व्यापक तयारी


नेपथ्य लाइभ कन्सर्टको व्यापक तयारी

नेपालगन्ज १० मंसिर : नेपालगन्जमा हुने नेपथ्य लाइभ कन्सर्टको व्यापक तयारी गरिदैँछ । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमले आगामी मंसिर २९ गते नेपालगन्ज रंगशालामा मानवताका लागि सांगीतिक यात्रा कन्सर्ट गर्न लागेको हो ।

नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ नेपालगन्ज सहित १० शहरहरुमा कार्यक्रम गरिदैँछ । नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले मानवता झल्किने र मानवता प्रवद्र्धनमा सहयोग पुग्ने गीतहरु कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

नेपथ्य लाईभ कन्सर्ट भव्य र सफल बनाउन विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरु सम्मिलित तयारी बैठकहरु गरिएका छन् । कन्सर्टका लागि कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । भने ११ वटा विषयगत उपसमितिहरु पनि निर्माण गरिएका छन् ।

जयनारायण शाहको संयोजकत्वमा सुरक्षा तथा समारोह स्थल व्यवस्थापन समिति, शुक्रऋषि चौलागाईको संयोजकत्वमा मिडिया तथा प्रचार–प्रसार व्यवस्थापन समिति, कृृष्ण श्रेष्ठको संयोजकत्वमा मिट एण्ड ग्रिट कार्यक्रम व्यवस्थापन समिति, विष्णु मैनालीको संयोजकत्वमा प्रायोजक समन्वय समिति, नन्दलाल वैश्यको संयोजकत्वमा अतिथी सत्कार व्यवस्थापन समिति, उमा ग्राण्डनको संयोजकत्वमा आवास व्यवस्थापन समिति, गोविन्द प्रसाद पाण्डेको संयोजकत्वमा टिकट बिक्री व्यवस्थापन समिति निर्माण गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै सचिवालय व्यवस्थापन समितिको संयोजकमा जैकेश सिंह, संघसंस्था समन्वय समितिको संयोजकमा नमस्कार शाह, सहकारी संस्था व्यवस्थापन समितिमा नारायण सिग्देल संयोजक रहेकाछन् । भने स्वास्थ्य व्यवस्थापन समिति समेत निर्माण गरिएको छ ।

आवश्यक्ताका आधारमा चरणबद्ध छलफल र तयारीलाई तिव्रता दिइएको मूल समारोह समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । एक हजार रुपैँया रहेको कार्यक्रमको टिकट मानवसेवा आश्रमको शाखा वा अनलाइनमा (thupraif\.com/nepathya) र इसेवा (esewaevents.com) बाट प्राप्त गर्न सकिने छ ।

विगत एक दशकदेखि मानव सेवामा समर्पित आश्रम १९ औँ जिल्ला शाखाका रुपमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, आदर्शनगरमा रहेको छ । आश्रमको संरक्षणमा ४ बालक, १ बालिका, १ महिला र २१ जना पुरुष गरी २७ जना सहयोगापेक्षी रहेकाछन् ।

मानव सेवा आश्रमको भवन निर्माणका लागि समाजसेवी जैकेश सिंह र उनको परिवारका तर्फबाट डुडुवा गाउँपालिका वडा नम्बर–६ मा जग्गा प्राप्त भएको छ ।