राठौरसहित विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान


राठौरसहित विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान

खजुरा(बाँके) १० मंसिर : बाँके क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभामा निर्वाचित नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरसहित विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

राठौर सहित प्रदेश सभा–३ (क) बाट निर्वाचित रत्न खत्री र प्रदेश सभा–३ (ख) बाट निर्वाचित बादशाह कुर्मीलाई निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर–३ मा निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले तीनै जनालाई प्रमाणपत्र प्रदान गरेका हुन् । ‘निर्वाचन अधिकृतको कार्यालयमा तीनै जना निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरियो,’ उनले भने ।

सहमहामन्त्री राठौर ४ हजार ७ सय ९३ मतको अन्तरले निर्वाचित भएका थिए । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले २९ हजार ४० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरेका थिए । किस्मत नेकपा एमाले बाँकेको अध्यक्ष एवम खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

कुल एक लाख १३ हजार ३ सय २२ मतदाता रहेको क्षेत्र नम्बर–३ मा ७३ हजार ९ सय ८९ मत खसेको थियो । भने ५ हजार ७७ मत बदर भएको थियो । प्रतिनिधि सभा सदस्यतर्फको निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै बाँकेको निर्वाचन क्षेत्र नम्बर–३ अन्तरगत पर्ने प्रदेश सभा–३ (ख) मा एमालेका भिमबहादुर अलीलाई पराजित गरी नेपाली काँग्रेसका कुर्मी निर्वाचित भएका थिए । यसैगरी स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई पराजित गरी एमालेका खत्री निर्वाचित भएका थिए ।