नेपालगन्ज १२ मंसिर : भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा आगामी मंसिर २३ गते नेपालगन्जमा हुने भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको तयारीलाई तिब्रता दिईएको छ ।
नेपालगन्ज वाकाथन तयारी मुल समिति संयोजक रमेश सिटौलाको संयोजकत्वमा सोमबार बसेको बैठकले कार्यक्रमको कार्यतालिका र विभिन्न उपसमिति गठन गरेको छ । बैठकले कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमको रुपमा स्थापित गर्न यस क्षेत्रका सबै बर्ग र क्षेत्रको सहभागिता हुने गरी तयारीलाई तिब्रता दिने निर्णय गरेको छ ।
‘भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमको व्यवस्थापनका लागि बासका केन्द्रिय उपाध्यक्ष शिबकुमार बर्मालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी आर्थिक उपसमिति संयोजकमा मन भण्डारी, समारोह ब्यवस्थापन उपसमिति संयोजकमा अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, समन्वय उपसमिति संयोजकमा नमस्कार शाह, साँस्कृतीक उपसमिति संयोजकमा रबिन्द्र बोहरालाई जिम्मेवारी तोकिएको छ । कार्यक्रमको प्रचार–प्रसार उपसमितिको जिम्मेवारी बासका निर्देशक हेमराज भट्टलाई दिईएको छ ।
यसैगरी बैठकले वाकाथनको रुट फाईनल गरेको छ । नेपालगन्जको गणेशमान चौकबाट शुरु भई जिल्ला प्रशासन कार्यालय, त्रिभुवन चोक हुदैँ बिपि चोकमा गएर समापन हुने कार्यतालिका तय गरिएकोछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रर्दशन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रममा जोकोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा अपील गरिएको छ ।
दोश्रो पटक गर्न लागिएको वाकाथनले भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगन्जको पहिचानलाई व्यापकता दिने अपेक्षा गरिएको छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्र संघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो ।
यसैगरी बासका केन्द्रिय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा बसेको बास सचिवालय बैठकले बासको २२ औं वार्षिकोत्सबलाई भब्यताका साथ सम्पन्न गर्न जिम्मेवारी वाडँफाड गरेको छ । मंसिर २४ गते नेपालगन्जमा हुने वार्षिकोत्सबको तयारीका लागि बार्षिकोत्सब समारोह ब्यवस्थापन समिति संयोजकमा बासका निर्वतमान अध्यक्ष रमेश सिटौलालाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी समन्वय समिति संयोजकमा हेमराज भट्ट, स्वयम्सेवक समितिमा तपेन्द्र बहादुर मलाती, साँस्कृतीक समितिमा दीला शाह, आर्थिक समितिमा कल्पना अधिकारी र उत्कृष्ट शाखा तथा कर्मचारी छनोट समितिको संयोजकमा शिबकुमार बर्मालाई जिम्मेवारी दिईएको छ ।