महामन्त्रीद्वयले प्रधानमन्त्री बन्छु भन्ने होइन, पार्टीलाई बनाएर देखाउनुपर्ने हो
नेपालगन्ज १२ मंसिर : नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौरले युवा प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र छलफल भएमा सबैभन्दा बढी हकदार आफ्नो हुने बताएका छन् । युवालाई अगाडी बढाउने भए प्रधानमन्त्री बन्न आफु तयार रहेको उनले प्रष्ट्याए ।
नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै राठौरले पार्टी र गठबन्धनभित्र छलफल नहुँदै प्रधानमन्त्री बन्ने विषयलाई ब्यक्तिगत रुपमा चर्चामा ल्याउन उचित नहुने बताए ।
‘युवा उहाँ (गगन थापा र विश्वप्रकाश शर्मा) मात्र होईन, उहाँहरुभन्दा सिनियर म छु, म पनि युवा नै हो, म पनि तयार छु नि प्रधानमन्त्री चलाउनलाई,’ प्रतिनिधि सभाका नवनिर्वाचित सांसद राठौरले भने ‘उहाँ (गगन थापा) स्ववियु सदस्य हुँदा म त्रिचन्द्र कलेजको स्ववियु सभापति थिए, म पनि तयार छु नि युवामा, गगन जि मात्र होईन, अरु साथीहरु प्रदिप जि पनि तयार हुनुहुन्छ ।’
युवा प्रधानमन्त्री चाहिएको भए पार्टीभित्र छलफल हुनुपर्ने सहमहामन्त्री राठौरले बताए । युवाको सवाल गर्दा गगन र विश्व नै किन ? उनले अगाडी थपे, ‘युवा जेनेरेसन चाहिएको हो भने छलफल गरौं न, गगन र विश्व प्रकाश मात्रै किन त ? ह्वाई नट प्रदीप, ह्वाई नट किशोर राठौर, ह्वाईनट अरु ।’
‘म बाहेक अरु कोही होइन भन्नु जबरजस्ती हो । म ‘फेक’ कुरा गरेको होइन । हामीले अवसर पाएका छैनौ, हामीले अवसर पाउने हो भने देखाईदिन्छौं, हामीले हिजोका दिनमा देखाएका पनि छौं ।’ राठौरले थपे ।
थापा र शर्मालाई विश्वास गरेर पार्टीका नेता, कार्यकर्ताले महामन्त्री बनाएकाले उनीहरुले पार्टीलाई नै बनाएर देखाउनुपर्ने राठौरले सुझाव दिए । ‘पार्टीलाई बनाएर देखाएको हामी हेर्न चाहन्छौं, त्यसमा हामीले के सहयोग गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं,’ सहमहामन्त्री अगाडी राठौरले थपे । महामन्त्रीद्वय थापा र शर्माले पाँच वर्षसम्म पार्टीलाई बनाएर देखाउनुपर्ने हो नी त्यतातिर उहाँहरुको भूमिका देखिएन त ?
पत्रकारको जिज्ञासामा राठौरले संगठनको कमजोरी र नेतृत्व तहमा भएका नेताहरुले काम नगरेका कारण कतिपय ठाउँमा पार्टीले चुनाव हार्नुपरेको बताए । ‘पार्टीको जिम्मेवार तहमा बसेर पार्टीलाई असहयोग गरेका कारण पनि हार भएको हामीले महसुुस गरेका छौं, भोलीका दिनमा यो कुराको छानविन हुन्छ, पार्टीको क्रियाशिल सदस्य भनेको नेता हो, पार्टीको क्रियाशिल सदस्य भएर पार्टीलाई सहयोग नगर्ने पार्टी विरोधी कुरा हो, यसले पार्टीलाई अगाडी बढाउन सक्दैन ।’
पार्टीभित्र बसेर पार्टीलाई घात गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी अगाडी बढ्न नसक्नेमा उनले जोड दिए । अनुशासन नभए घर नबन्ने र पार्टीभित्र अनुशासन, त्याग, तपस्या र बलिदान नभएमा पार्टी नबन्ने उनको बुझाई छ । अहिलेका युवाले पाउने कुरा मात्रै गर्ने गरेको उनको तर्क छ ।
सो क्रममा नवनिर्वाचित प्रदेश सांसद बादशाह कुर्मी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायत जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । पत्रकार भेटघाटमा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिदैँ सहमहामन्त्री राठौर र प्रदेश सांसद कुर्मीलाई बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो प्रदान गरेका थिए ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जस्तै भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि प्रेस युनियन बाँकेले सिमित स्रोत, साधनका बाबजुद पनि संस्थागत रुपमा दायित्व निर्वाह गरेकोमा सकारात्मक प्रतिक्रिया पाएको बताए ।
प्रेस युनियनको मूल्य, मान्यतालाई स्थापित गराईराख्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दायित्व निभाउने सबैलाई ओलीले धन्यवाद ब्यक्त गरेका थिए । पत्रकार भेटघाट कार्यक्रम सञ्चालन सचिव विजय मल्लले गरेका थिए ।