राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ९ औं महाधिवेशन

नयाँ नेतृत्व चुन्दै राष्ट्रिय अपाङ्ग महासङ्घ


नयाँ नेतृत्व चुन्दै राष्ट्रिय अपाङ्ग महासङ्घ

तस्विर सौजन्य : खगेन्द्र दहाल

नेपालगन्ज १३ मंसिर: राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको नवौँ महाधिवेशन मङ्गलबार नेपालगन्जमा शुरु भएको छ । नेपालगन्जको बालेगाउँमा मङ्गलबारदेखि शुरु भएको राष्ट्रिय महाधिवेशनको उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश डाक्टर रत्न बागचन्दले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै मुख्य न्यायाधीश डाक्टर बागचन्दले नेपालको संविधानले अपाङ्गता भएका र नभएका बीच कुनै पनि भेदभाव नगरेको जनाउँदै अपाङ्गता भएका नागरिकलाई पनि अवसर र अधिकार दिनुपर्ने बताए ।
उनले अपाङ्गता भएकाहरुलाई सरकारले झन् बढी महत्व दिनुपर्नेमा जोड दिए ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदी, पूर्व अध्यक्ष डाक्टर वीरेन्द्रराज पोखरेल र दीपक कोइराला, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष भोजराज श्रेष्ठ, अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टीकाराम पराजुलीलगायतले महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।

यसैबीच, महाधिवेशनले राष्ट्रिय अपाङ्ग महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने कार्यक्रम छ । तीन वर्षे कार्याकालका लागि राष्ट्रिय अपाङ्ग महासंघको नेतृत्व लिन पाँच जना अगाडि सरेका छन् ।

नेपालगन्जमा पहिलो पटक आयोजित महाधिवेशनबाट अध्यक्षका लागि देवीदत्त आचार्य, गणेश केसी, रमा ढकाल, टेकनाथ न्यौपाने र केपी अधिकारीले दावेदारी प्रस्तुत गरेका छन् । नेतृत्व लिन कतिपयले साझा उम्मेदवार त केहीले पार्टीगत प्रचार गरेका छन् ।

महाधिवेशनमा भाग लिन देशभरबाट एक हजार चार सय बढी मानिस आएका छन् । तीमध्येमा ७ सय ८७ जना मताधिकार भएका प्रतिनिधि भएको महासंघका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिए ।

महासंघमा देशभरमा चार सय संस्था आबद्ध रहेको छ । अपाङ्गता भएका व्यक्तिको संख्या धेरै नै भएपनि राजनीतिक दलले उनीहरुलाई किनारा लगाउँदै आएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले अपाङ्ग भएका व्यक्तिलाई उम्मेदवार नबनाएको अध्यक्ष शर्माले बताए ।

‘केही दलले समानुपातिकमा नाम राखेका छन् । त्यो पनि धेरै पछाडी नाम रहेकाले खाली अपाङ्ग व्यक्तिको सेन्टिमेन्ट लिन हो जस्तो लाग्छ, अध्यक्ष शर्माले भने, हक अधिकार स्थापित गर्ने ठाउँमा हामीलाई दलले अगाडि सारेका छैनन् ।’

महासंघका सचिव राजु बस्नेतले महाधिवेशनबाट नयाँ नेतृत्व चुन्दा भोटिङ मेसिनको प्रयोग गर्ने जानकारी दिए ।