लुम्बिनी प्रदेश : दुईमात्रै महिला उमेदवार निर्वाचित


लुम्बिनी प्रदेश : दुईमात्रै महिला उमेदवार निर्वाचित

दाङ क्षेत्र नम्बर- २ बाट निर्वाचित रेखा शर्मा (दायाँ) र बाँके १ ‘क’बाट निर्वाचित कृष्णा केसी ‘नमुना’।

नेपालगन्ज १४ मंसिर : लुम्बिनी प्रदेशबाट आम निर्वाचन २०७९ मा क्रियाशील दलका ११ महिलामात्रै प्रत्यक्षतर्फ उमेदवार बन्ने अवसर पाए । संविधानले संघ, प्रदेश र स्थानीय तहमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर, दलहरूले उमेदवारी दर्ता गर्ने क्रममै यस व्यवस्थालाई उपेक्षा गरेका थिए । अधिकांश महिला उमेदवारहरू पराजित भए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाका ३६ प्रतिनिधिसभा र ५२ प्रदेशसभातर्फ उम्मेदवार दिएका ११ महिला उमेदवारमध्ये दुई जना मात्रै निर्वाचित भए । लुम्बिनीबाट प्रतिनिधिसभातर्फ ७ र प्रदेशमा ४ जनामात्रै महिला उमेदवार रहेकामा संघ र प्रदेशमा एक–एकजनामात्रै विजयी भएका छन् ।

एमालेले दुई तथा काँग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादीबाट एक–एक जना महिलाले प्रतिनिधिसभामा प्रत्यक्षमा चुनाव लडेपनि माओवादीकी उमेदवारमात्रै विजयी भइन् । लुम्बिनीमा समानुपातिक र प्रत्यक्ष गरी ८७ जना सांसद चुनिन्छ । प्रदेशसभाको प्रत्यक्ष निर्वाचनतर्फ प्रमुख दलबाट चार महिलामात्रै भिडेका थिए ।

एमालेबाट रुकुमपूर्वको ‘ख’मा भावना बुढाथोकी र बर्दिया २ को ‘ख’मा कृष्णी थारु, माओवादी केन्द्रबाट बाँके १ को ‘क’मा कृष्णा केसी ‘नमुना’ र बर्दिया १ को ‘ख’मा अञ्जु दहित चुनावी मैदानमा रहेपनि केसीमात्रै विजयी बनिन् । लुम्बिनी प्रदेशसभाकी निवर्तमान उपसभामुख थारु पराजित हुँदा केसीमात्रै निर्वाचित भएकी हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

राजनीतिक दलहरूले उमेदवार छनोटअघि प्रत्येक क्षेत्रबाट आकांक्षीहरूको सूची माग गरेका थिए । तर, प्रत्यक्षतर्फको सूचीमा महिलाको आकांक्षा निकै कम देखिएको थियो ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा लुम्बिनीबाट जनमोर्चाकी दुर्गा पौडेलमात्रै निर्वाचित भएकी थिइन् । यो पटक उनीसहित एमालेबाट शान्ता चौधरी र कोमल ओली, काँग्रेसबाट पुष्पा भुसाल, माओवादी केन्द्रबाट रेखा शर्मा र एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री प्रतिनिधिसभाको चुनावी मैदानमा रहेपनि शर्मामात्रै निर्वाचित भइन् ।

चुनाव जित्ने महिला उमेदवार

दाङ क्षेत्र नम्बर–२ मा गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र)ले पूर्वमन्त्री रेखा शर्मालाई उमेदवार बनाएको थियो । शर्माले २०६४ सालको संविधानसभा निर्वाचन पश्चिम दाङबाट जितेकी थिइन् । उनी मन्त्री हुँदा वा राजनीतिक रूपमा पनि कुनै पनि विवादमा नमुछिएकी नेतृको छवि बनाएकोले पनि सहज भएको थियो । उनले नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई पराजित गर्न सफल भइन् ।

०७४ सालको निर्वाचनमा शंकर वाम गठबन्धनको तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ को ‘क’बाट निर्वाचित भएपछि मुख्यमन्त्रीसमेत बनेका थिए । मुख्यमन्त्री हुँदा लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीबाट दाङ सार्न भूमिका खेलेका पोखरेललाई शर्माले २०२ मतान्तरसहित पराजित गरिन् ।

प्रदेशसभातर्फ माओवादी केन्द्रबाट बाँके–१ को ‘क’मा कृष्णा केसी ‘नमुना’ले जित निकालिन् । निवर्तमान प्रदेशसभा सदस्यसमेत रहेकी उनले निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरिन् । उनीहरूबीचको मतान्तर एक हजार १३७ रहेको छ ।

निर्वाचन कानूनले पनि महिला सहभागितासहित समावेशीताका लागि बाध्यकारी व्यवस्था गरेको छ । तर, दलहरूले विभिन्न बाध्यात्मक कारण देखाउँदै यसलाई टारेका हुन् । उनीहरूले निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई अवसर नदिएर समानुपातिकमै सीमित गरेका छन् । यसले मूल नीति निर्माण तहमा महिला सहभागिता कमजोर हुने देखिएको छ ।