बाँके र बर्दियाका किसान सस्तोमा धान बिक्री गर्न बाध्य


बाँके र बर्दियाका किसान सस्तोमा धान बिक्री गर्न बाध्य

नेपालगन्ज १५ मंसिर : बाँके र बर्दियाका किसानको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समयमै खरिद नगर्दा किसान समस्यामा परेकाछन् ।

किसानले उत्पादन गरेको धान वर्षेनी सरकारले तोकेको मूल्यमा खरिद गर्दैआएको भए पनि बाँकेका र बर्दियास्थित खाद्य व्यवस्थाले हालसम्म धान खरिद नगर्दा किसानहरू समस्यामा परेका हुन् ।

खाद्य व्यवस्थाले धान खरिद प्रक्रिया सुरु नगरेपछि बाध्य भएर किसानले सस्तोमा व्यापारीलाई धान बिक्री गरिरहेकाछन् । खाद्य व्यवस्थाले धान खरिद नगर्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नुपर्ने अवस्था आएको छ ।

सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य दुई हजार ९६७ रुपैयाँ तोके पनि खाद्य व्यवस्था कार्यालयले खरिद नगर्दा बजारमा व्यापारीलाई बाध्य भएर किसानले दुई हजार ४०४ रुपैयाँमा बिक्री गरिहेकाछन् । सरकारले तोकेको मूल्यभन्दा निकै कम मूल्यमा बजारमा व्यापारीले खुला रूपमा धान खरिद गरे पनि कुनै निकायले केही नबोल्दा आफूहरू समस्यामा परेको किसान बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरकारले तोकेको भन्दा प्रति क्विन्टल ५ सय रुपैयाँ कममा व्यापारीले धान खरिद गरिरहेको किसानको भनाइ छ । नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रति क्विन्टल दुई हजार ४ सय भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा धान बिक्री गरिरहेका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नगरिएकाले धान खरिद सुरु नभएको बताए ।
कोटा निर्धारण गरेर खरिद गर्ने निर्देशन आएलगत्तै बाँकेमा पनि किसानका धान सरकारी दररेटमा खरिद गरिने उनको भनाइ छ । धान खेती भएको क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको आङ्कलन गरिएको छ ।

यस्तै बर्दियाको राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्दा हिउँदे बाली लगाउन, मल र बीउको जोहो गर्न पनि सस्तोमा धान बेच्न परेको किसानको भनाइ छ ।

सरकारले धानको समर्थन मूल्य निर्धारण गरे पनि केन्द्रिय कार्यालयबाट आवश्यक बजेट र निर्देशन नआएको र आफू त्यसको पर्खाइमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुर केन्द्र प्रमुख धर्मराज पन्तले बताए । उनले भने,‘यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ माथिको निर्देशन आउनासाथ धान खरिद प्रक्रिया अघि बढाउँछौँ ।’

एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय गुलरिया बर्दियाको तथ्याङ्क अनुसार यसवर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्ष भन्दा बर्दियामा यस पटक धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । पश्चिम नेपालमा धेरै धान उत्पादन हुनेमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका पर्दछ ।