‘ठालू’ बनेर बस्ने होइन, जनताको घरमा पुगेर काम गर्नुस्’ : राठौर


‘ठालू’ बनेर बस्ने होइन, जनताको घरमा पुगेर काम गर्नुस्’ : राठौर

नेपालगन्ज १५ मंसिरः नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौरले जनताको माझमा पुगेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । काँग्रेसले जनतालाई अधिकार, विकास र ब्यवस्था परिवर्तनको नेतृत्व गरेपनि त्यो कुरा जनता समक्ष पुर्याउन नसकिएको बताए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर–३ ले बिहीबार खजुरामा आयोजना गरेको बधाई, शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौरले भने, ‘ठालू बनेर बस्ने होइन । तपाईहरु जनताको घरमा जानुस्, रेस्पोन्स गर्नुस्, केही काम पर्यो भने जनतालाई मेरो नम्बर यो हो भन्नुस्, जनतालाई काम परेका बेला रेसपोन्स गर्नुस् ।’

पार्टीका कार्यकर्ताभन्दा काँग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधीले बढी जिम्मेवार भएर काम गर्नुपर्ने उनले बताए । ‘नेपाली काँग्रेसका साथीहरु भ्रष्टाचारमा नलाग्नु होला, भ्रष्टाचारमा लाग्नुभयो भने यो देश बन्दैन, पार्टी बन्दैन, गाउँमा हिँड्दा, वडामा हिँड्दा खेरी आर्दश पुरुषको रुपमा जनताले हेर्न चाहेका छन्,’ उनले अगाडी भने ‘जितेका मात्र होईन, हारेका उम्मेदवार पनि जनताको घर–घरमा जानुस्, चिया पिउनुस् । जनताका सवाल र समस्या समाधान गर्नेतर्फ लाग्नुस्, मलाई पनि वडा र टोलमा बोलाउनुस्, म आफै पनि पुग्नेछु, पार्टीलाई बनाऔं ।’

‘निर्वाचित भएपछि आफूप्रति थुप्रैका अपेक्षा होला तर, म भाषण गर्ने, कुरा गर्ने मध्येको परिन् । काम गरेर रिजल्ट दिने नेता हो । सिक्टा सिचाई र मानखोलामा पक्की बाँधसंगै ड्याम निर्माणलाई पहिलो प्राथमिकतामा राखेकोछु’ किशोरले भने–‘यस क्षेत्रको एकैपटक काया पलट हुदैन, परिर्वतनका लागि समय लाग्छ । म पाँच वर्षमा आफूले गर्नसक्ने कामको मात्र प्रतिबद्धता गर्छु ।’

Kids Festival 2022
kanti aarogya hospital
add

पार्टीको काम नगर्ने, पार्टीलाई धोका दिने र भ्रष्टाचार गर्नेले अर्को पटक चुनावमा टिकट नपाउने सहमहामन्त्री राठौरले चेतावनी दिए । बाँके क्षेत्र नम्बर–३ मा माओवादी भित्रको अन्तरद्वन्द्व र काँग्रेसभित्र पनि सुक्ष्म रुपमा भइरहेको ‘बदमासी’ का बीच आफु प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको सहमहामन्त्री राठौरले बताए ।

माओवादीभित्रको विवादलाई मिलाउन आफुले हरसम्भव प्रयास गरेको भन्दै माओवादीको केन्द्रिय स्तरबाट पहल नहुँदा ठुलो क्षति भएको उनले बताए । ‘माओवादीको केन्द्रिय नेतृत्वबाट पनि पहल भएन, त्यसले हामीलाई ठुलो क्षति भएको छ, आईपी जिलाई पनि मैले सहयोग गरेको हुँ, तर अन्तिममा उहाँले एमालेलाई मत हाल्नु भयो,’ उनले भने ‘दलबहादुर जि हारेकोमा दुःख लागेको छ ।’ आफु लडेको क्षेत्रमा उत्पन्न विवाद मिलाउनै ठिक्क भएपछि अरु क्षेत्रमा जान नपाउँदा बाँके र बर्दियामा हार्नु परेको उनको तर्क छ ।

‘बर्दिया–२ नम्बर क्षेत्र र बाँके–१ नम्बर क्षेत्र पनि हार्यौं, जुन परीणाम बाँके र बर्दियामा आयो, त्यसले मलाई खुसी बनाएको छैन, मैले चुनाव जितेपनि म हर्षित छैन,’ राठौरले भने । भर्खरै सम्पन्न निर्वाचनको काँग्रेसले समिक्षा गर्नुपर्ने बताए ।

यस्तै प्रदेश सभा–३ (ख) का नवनिर्वाचित सांसद बादशाह कुर्मीले निर्वाचित भएपछि जनताका काम गर्न तयार रहेको बताए । ‘स्थानीय सरकार हाम्रो छ, अब प्रदेश र संघीय सरकार पनि हाम्रै गठबन्धनको भयो भने जनताको काम गर्न समस्या हुदैन,’ उनले भने ‘केन्द्र र प्रदेशमा पक्कै पनि सरकार बन्छ, हामी विकासका काम गर्नेछौं ।’

क्षेत्र नम्बर–३ का सभापति मोहम्मद नक्की खाँको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा–३ ‘ख’ का सभापति राजेन्द्र आचार्यले स्वागत गरेका थिए । कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, पुर्वसभापति कृष्णमान श्रेष्ठ र माओवादी केन्द्रका नेता राजकुमार बिकले पनि मन्तब्य राखेका थिए ।