प्रत्यक्षतर्फ काँग्रेस पहिलो, संसद्मा पुगे १२ दल


प्रत्यक्षतर्फ काँग्रेस पहिलो, संसद्मा पुगे १२ दल

नेपालगन्ज १९ मंसिर : मङ्सिर ४ मा भएको निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मत गणना १५ दिनमा सकिएको छ । सोमबार बिहान दोलखामा सम्पन्न मत गणनामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १६५ निर्वाचन क्षेत्रकै मत गणना सकिएर नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजाअनुसार प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेर नेपाली काँग्रेस पहिलो दल बनेको छ । काँग्रेसले ५७ सिट जितेर पहिलो दल बन्दा दोस्रोमा नेकपा एमाले ४४ सिट जित्न सफल भएको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो दल भएको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७, राप्रपा ७, जसपा ७, लोसपा ४ नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् । संसद्मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ ।

समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ । सोमबार बिहानसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ भने काँग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३,जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ ३६२ मत ल्याए पनि थ्रेस होल्ड कटाएको छैन । दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा समानुपातिकतर्फका छुट्टै सांसद निर्वाचित हुन्छन् । सोमबार बिहानसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गणना भइसकेको छ।