हिमालयन साईन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा


हिमालयन साईन्स फेस्टिभलको दोस्रो संस्करण फागुनमा

नेपालगन्ज १९ मंसिर : देशभरमा भएका युवा वैज्ञानिकहरुको प्रतिभालाई देखाउने अवसर सृजना गर्ने उद्देश्यका साथ नेपालगन्जमा हिमालयन साईन्स फेस्टिवलको दोस्रो संस्करण हुने भएको छ ।

हिमालयन साईन्स फाउण्डेशनले आयोजना गर्न लागेको फेस्टिभल आगामी फागुन २ र ३ गते नेपालगन्जमा हुनेछ ।

फेस्टिभलले युवा वैज्ञानिकहरुको प्रतिभाहरु सार्वजनिक गर्दैै हौसला अभिवृद्धिमा सहयोग पुग्ने आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले बताए ।

‘लेट्स ह्याभ अ मोमेन्ट अफ साईन्स’ भन्ने नाराका साथ हुन लागेको विज्ञान र प्रविधि महोत्सवले विज्ञान र प्रविधिको विकासबाट राष्ट्रनिर्माणमा योगदान दिने उद्देश्य लिएको फाउण्डेशनका अध्यक्ष बस्नेतले पत्रकार सम्मेलनमा बताए । नेपालगन्ज रंगशालामा हुन लागेको फेस्टिभललाई वालाबिज एजुकेशनल सर्भिसले मुख्य प्रायोजन गरेको छ भने नेपालगन्ज उप–महानगरपालिका, प्याब्सन नेपालगन्ज र विज्ञान शिक्षक संघले सहयोग गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सोमबार आयोजक टिमले नेपालगन्जमा पत्रकारहरुसँग विज्ञान र प्रविधिको बारेमा छलफल समेत गरेको थियो । महोत्सवको बारेमा जानकारी गराउन आयोजना गरिएको कार्यक्रममा मुख्य प्रायोजक वालाबिजका संस्थापक विज्ञान शाह, प्याब्सन नेपालगन्ज नगर सचिव मान बहादुर थापा, आजम खान र विजय यादव लगायतको सहभागिता रहेको थियो । ५० वटा स्टल राखिने फेस्टिभलमा कक्षा ८ देखि १२ सम्मका सरकारी र निजि विद्यालयका विद्यार्थीले विज्ञान र प्रविधिको प्रोजेक्ट सहभागिता जनाउनेछन् ।

फेस्टिभलमा बाँकेबाट करिब ७० प्रतिसत विद्यार्थीलाई सहभागिता गराउने आयोजकले बताएको छ । फेस्टिभलमा सहभागि हुनेहरुले विभिन्न ९ विधामा आफनो प्रोजेक्ट प्रस्तुत गर्नेछन् ।

साईन्स फेस्टिभलले देशको विकासमा ठुलो योगदान गर्न सक्ने आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष बस्नेतले बताए । उनले भने, ‘मानव सभ्यतालाई विकसित बनाउन सबैभन्दा ठुलो भुमिका ज्ञानको खोज, विज्ञान र प्रविधिको विकास हो । अन्य देशहरुले अन्तरिक्षमा वस्ती बसाउने योजना बनाईसकेका छन् । तर हाम्रो देशमा विज्ञान र प्रविधि विकासको गति दयनीय छ । राज्य सञ्चालन गर्ने निकायले यो क्षेत्रलाई उपेक्षा गर्ने गरेको छ । विज्ञान र प्रविधिको विकास बिना देशको विकास सम्भव छैन । यो कुरा बहसको विषय बन्नु जरुरी छ ।’

नेपालले थोरै लगानीमा आफनो अनुकुलका आविष्कारहरुमा ध्यान दिन सक्ने अवस्था भएपनि त्यसतर्फ कसैले चासो नदिएको उनको भनाई थियो ।

विज्ञान र प्रविधिको महत्वलाई आम नागरिकमाझ बुझाउन पनि फेस्टिभलले सहयोग गर्ने बस्नेतले बताए । फेस्टिभलमा उत्कृष्ट नतिजा निकाल्ने विद्यार्थीलाई विदेशमा हुने प्रतिष्ठित फेस्टिभलमा सहभागि गराउन सहयोग गर्ने हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष बस्नेतले बताए ।

पहिलो संस्करणमा विजेता बनेका आजमले अफ्रिकामा भएको फेस्टिभलमा समेत पुरस्कार जित्न सफल भएका थिए । सोमबार पत्रकार सम्मेलनमा खाँनले विज्ञानमा खोजी गर्ने युवालाई फेस्टिभलले धेरै सहयोग गर्ने गरेको बताए ।