विवादकाबीच देउखुरी सारियो लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय


विवादकाबीच देउखुरी सारियो लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय

नेपालगन्ज २० मंसिर : विवादकाबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थायी राजधानी दाङको देउखुरीमा सारिएको छ । राजधानी कार्यान्वयनको लागि मुख्यमन्त्री कार्यालय स्थायी राजधानीमा सारिएको हो । अब अन्य मन्त्रालय र विषयगत कार्यालयहरू पनि सार्ने तयारी सुरु भएको छ ।

बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको हो । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनको भनाइ छ ।

तीन वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामानसहितको कार्यालयका सम्पूर्ण सामग्री बोकेर मुख्यमन्त्रीसहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी गएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा आज(मङ्गलबार) बिहान झारिएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकले देउखुरीमा राति लगिएका सामग्री अहिले राप्ती प्राविधिक शिक्षालयको प्रशासनिक भवनमा व्यवस्थापन गर्न लागिएको बताए । उनले भने — ‘दिउँसोमा काममा डिस्टर्ब हुने भएकाले कार्यालय बन्द भएपछि सारिएको र हरेक परिवर्तनहरू रातमा हुने गरेको छ ।’

साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएका भवनको सामान्य मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाइएको छ भने अन्य मन्त्रालयहरू पनि अन्य भवनमा सार्ने तयारी छ ।

अहिलेसम्म मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास समेत तयार भएको छ । केही दिनभित्र औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कामकाज थाल्नेछ ।

प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरूको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ । राजधानी कार्यान्वयनसँगै प्रदेशसभाको दोस्रो कार्यालयको पहिलो बैठकसमेत स्थायी राजधानीमा आह्वान गर्ने तयारी सरकारले गरेको छ ।

यसअघि नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, बुटवल नगरप्रमुख खेलराज पाण्डेलगायतले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबन्दै तत्काल मन्त्रालयहरू नसार्न आग्रहसहित ज्ञापनपत्र बुझाएका थिए ।

नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित चार सांसदहरू लीला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरू सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।

कर्मचारीहरूले समेत पूर्वाधार बिना राजधानी सार्दा समस्या हुने भन्दै नसार्न मागसहित ज्ञापनपत्र समेत बुझाएका थिए ।