नरैनापुरमा सडकका लागि बजेट पठाउने प्रदेश सरकारको आश्वासन


नरैनापुरमा सडकका लागि बजेट पठाउने प्रदेश सरकारको आश्वासन

नेपालगन्ज २१ मंसिर : लुम्बिनी प्रदेश सरकारले बाँकेको मटेहिया–सोनपुरसम्मको सडक निर्माणका लागि बजेट दिने आश्वासन दिएको छ ।

सडक निर्माणका लागि सहयोग माग गर्न लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ पुगेका नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहलाई प्रदेश सरकारका अर्थ सचिव नेत्र सुवेदीले मटेहिया–सोनपुर सडक विस्तारका लागि एक साताभित्र बजेट पठाउने आश्वासन दिएको नरैनापुर गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।

नरैनापुरको समग्र विकासका लागि अध्यक्ष शाह सहितको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र अर्थ, सहकारी मन्त्री कृष्णध्वज खड्कालाई भेटेर विभिन्न माग राखेको उनले बताए ।

भेट्का अवसरमा मुख्य मन्त्री केसीले नरैनापुरको समग्र विकासका लागि लुम्बिनी प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए । ‘नयाँ सरकार गठन हुनुभन्दा अघि नै प्रदेश सरकार नरैनापुरको विकासका लागि महत्वपूर्ण योजना सुरु गर्ने पक्षमा छ,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

सो अवसरमा गाउँपालिका अध्यक्ष शाहले अर्थ मन्त्री खड्कासँग हुलाकी सडक–रोसनपूर्वा र मटेहिया–सोनपुर रोड निर्माणका लागि बजेट माग गरेका थिए । अर्थ मन्त्री खड्काले दुई सडक मध्ये एउटा सडक निमार्णका लागि बजेट दिने अश्वासन दिएका हुन ।

‘मन्त्री खड्का ज्यूले मन्त्रालयका सचिव नेत्र सुबेदीलाई नरैनापुरका अध्यक्ष नेतृत्व टोलीले माग गरेको सडक निर्माणका लागि रकम व्यवस्थापन गर्न निर्देशन दिनु भयो । सचिव सुबेदी ज्यूले सडक निर्माणका लागि चाहिने बजेट एक साता भित्रै पठाउने आश्वासन दिनु भयो,’ नरैनापुर गाउँपालिकाका लेखापाल अधिकारीले भने ।

मुख्यमन्त्री कार्यालय भालुवाङमा भएको भेटमा नरैनापुर गाँउपालिकाको विकास, सुशासन, सेवा प्रवाह र सन्तानेश्वर मन्दिरको विषयमा छलफल गरेको थियो । यस्तै भेटमा नरैनापुर क्षेत्रको शिक्षा, स्वास्थ्य र यातायातका लागि सरकारले विशेष प्याकेज ल्याउन आग्रह गरिएको थियो ।

अध्यक्षसँगै बाँके क्षेत्र नम्बर–१ ‘क’ बाट निर्वाचित प्रदेससभा सदस्य कृष्णा केसी (नमुना) पनि दाङ पुगेकी थिइन् ।