बाँकेका मतादता नयाँ अनुहार रोज्छन् !


बाँकेका मतादता नयाँ अनुहार रोज्छन् !

नेपालगन्ज २२ मंसिर : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बाँकेको ८ पालिका प्रमुख र उपप्रमुखमा शून्य नतिजा ल्याएको नेकपा एमालेले आम निर्वाचन–२०७९ मा पहिलो पार्टी बन्न सफल भयो ।

८ स्थानीय तह रहेको बाँकेमा प्रमुख र उपप्रमुखमा शून्य नतिजा ल्याएको एमालेले ६ महिनापछि भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ बाँकेमा पहिलो पार्टी बन्यो ।

प्रतिनिधि सभातर्फ ३ र प्रदेश सभातर्फका ६ स्थानमध्ये एमालेले सत्तारुढ गठबन्धनका बाबजुद राप्रपाको साथ लिएर एक प्रतिनिधि सभा र प्रदेश सभामा २ सिटमा जित निकाल्दै बाँकेमा पहिलो पार्टी बन्न सफल भएको हो ।

बाँकेमा नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा १–१ सिट जितेको छ । भने जनता समाजवादी पार्टीले प्रदेश सभामा २ र नेकपा (माओवादी केन्द्र) ले प्रदेश सभामा १ सिटमा जित हाँसिल गरेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

एमालेबाट विजयी तीन जना उम्मेदवार पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भई निर्वाचित भएका हुन् । क्षेत्र नम्बर–१ मा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज सूर्य ढकालले युवा तथा खेलकुदमन्त्री तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य महेश्वर गहतराज ‘अथक’लाई पराजित गरे ।

२०७४ मा वाम गठबन्धन हुँदा एमालेका ढकाललाई पछि पारेर टिकट प्राप्त गरी विजयी बनेका गहतराज यस पटक दोहोरिन सकेनन् । ढकालले संसदीय राजनीतिमा पहिलो पटक टिकट प्राप्त गरेर विजयी यात्रा सुरु गरे ।
‘निरन्तर जनताको बीचमा रहेर क्रियाशील भएको प्रतिफल जनताबाट प्राप्त भएको छ,’ ढकालले भने, ‘जनताको यो विश्वासलाई डगमगाउन दिने छैनौँ ।’

क्षेत्र नम्बर–१ को प्रदेश ‘क’ मा माओवादी केन्द्रका कृष्ण केसी ‘नमुना’ दोहोरिँदा प्रदेश ‘ख’ मा भने एमालेका दुर्गाप्रसाद चौधरी विजयी भए । पूर्व माओवादीका डिभिजन कमाण्डर समेत रहेका चौधरी पनि संसदीय यात्रामा पहिलो पटक उम्मेदवार बनेर सफल भएका हुन् ।

बाँके क्षेत्र नम्बर–२ मा राप्रपाका डाक्टर धवलशम्शेर राणाको सांसद बन्ने २८ वर्षदेखिको प्रयास सफल भएको छ । २०५१, २०६४ र २०७० मा प्रतिनिधि सभा सांसदको उम्मेदवार बनेका डाक्टर राणा २०५४ र २०७४ मा नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका हुन् ।

यस पटक राणाले एमालेको समर्थनमा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई पराजित गरे । सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाको जमानत नै जफत भएको छ । क्षेत्र नम्बर–२ को प्रदेश ‘क’ मा जसपाका भण्डारीलाल यादव र प्रदेश ‘ख’ मा पनि जसपाकै आदेश अग्रवाल विजयी भए ।

डुडुवा गाउँपालिका वडा नम्बर– ३ का पूर्व वडाध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेदवार भई पराजित भएका थिए । व्यापारी नेता अग्रवाल पहिलो पटकमा संसदीय राजनीतिमा निर्वाचित बने ।

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बर्दियाबाट पहिलो पटक निर्वाचन क्षेत्र परिवर्तन गरी बाँके क्षेत्र नम्बर–३ बाट प्रतिस्पर्धा गरे । पहिलो प्रयासमै राठौर विजयी भए । प्रदेश–१ ‘क’ मा एमालेका रत्न खत्री विजयी भए ।

२०७४ मा वाम गठबन्धनका कारण टिकट नपाएका खत्रीले संसदीय राजनीतिमा पहिलो पटक टिकट प्राप्त गरी निर्वाचित बने । दुई पटक समानुपातिक तर्फबाट संविधान सभा सदस्य बनेका बादशाह कुर्मी बाँके क्षेत्र नम्बर–३ प्रदेश सभा –‘ख’ बाट निर्वाचित बने ।

यसरी हेर्दा बाँकेमा प्रतिनिधि सभा सदस्यतर्फ क्षेत्र नम्बर–२ बाट डाक्टर धवल शम्सेर राणा र प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ को ‘क’ बाट कृष्ण केसी ‘नमुना’ बाहेक सबै जना आम निर्वाचनमा होमिएको पहिलो प्रयासमै निर्वाचित हुन सफल भएका हुन् ।