नेपालगन्ज २३ मंसिर : नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर –२० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले शुक्रबार एक कार्यक्रमकाबीच बहुउद्देश्यीय भवनको शिलान्यास गरे ।
तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन निर्माण गरिसक्ने बताए ।
बहुउद्देश्यीय भवन एडिबीको सहयोग र खानेपानी तथा ढल निकास विभागको समन्वयमा बन्न लागेको नगरपालिकाका सब–इन्जिनियर समेत रहेका प्राविधिक सम्पर्क व्यक्ति पवन बुढाले जानकारी दिए ।
एक करोड ६६ लाख ९६ हजारको लागतमा भवन बन्न लागेको हो । महामारीजन्य रोगहरुलाई लक्षित गरेर होल्डिङ सेन्टरका रुपमा उपयोग गर्ने उद्देश्यका साथ भवन बनाउन लागिएको नगर प्रमुख विष्टले बताए । उनले बहुउद्देश्यीय भवनको छेउमा १५ शैयाको अस्पताल बनाउने योजना पनि रहेको जानकारी दिए ।
शिलान्यास कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोवी लगायत उपस्थिति रहेको थियो ।