चीलसँग ठोक्किएर क्षति भएको जहाज मर्मतपछि नेपालगन्ज ल्याण्ड


चीलसँग ठोक्किएर क्षति भएको जहाज मर्मतपछि नेपालगन्ज ल्याण्ड

चीलसँग ठोकिएर क्षति भई हुम्ला सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मत गर्दै प्राविधिक ।

नेपालगन्ज २४ मंसिर : चीलसँग ठोकिएर क्षति भई हुम्ला सिमकोट विमानस्थलमा ग्राउण्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि आज(शनिबार) उडान भरेको जहाज नेपालगन्ज ल्याण्ड भएकोछ । 

काठमाडौंबाट गएको प्राविधिक टोलीले तीन दिन लगाएर जहाजको मर्मत गरेपछि जहाजले सफल उडान भरेको हो ।

तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्बु लामाले क्षति भएको जहाजको मर्मत कार्य पूरा भएपछि सिमकोटबाट नेपालगन्जका लागि उडान भर्न सफल भएको बताए ।

गत बिहीबार प्राविधिक टोली आएर जहाजको मर्मत गर्न तीन दिन लगाएको उनले जानकारी दिए । हाललाई जहाजको मर्मत गरेर नेपालगन्जसम्म लगिएको र थप मर्मत नेपालगन्जमा हुने उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

क्षति भएर मर्मत गरिएको जहाजमा चालक दलका सदस्य मात्र थिए । जहाजको मर्मतका लागि पाँच जना प्राविधिक टोली गएको थियो । टोलीले पहिलो दिन जहाजको नोजभित्र रहेको दश केजीभन्दा बढी तौल भएको चीललाई निकालेको थियो ।

गत बुधबार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सीमानामा पर्ने मनेलेक क्षेत्रमा आकाशमा उडिरहेको तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो । नेपालगन्जदेखि सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर गइरहेको जहाजमा चील ठोकिएको थियो ।

तारा एयरको नाईन एन–एकेल कलसाईन भएको जहाज बुधबार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा अवतरण गर्न दुई मिनेट बाँकी रहँदा जहाजमा चील ठोक्किएको थियो । चील जहाजको नोजभित्र पसे पनि चालक दलका सदस्यले जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए ।