कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह सम्पन्न
नेपालगन्ज २५ मंसिर : कोहलपुर नगरप्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र हाल नेपालगन्जमा कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
नगरप्रमुख आचार्यले लगनशील, कर्मठ र योग्य कर्मचारीको रुपमा आफुलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए । उनले विधि, प्रक्रिया र योग्यतालाई कदर गर्दै प्रहरी जवानहरु छनोट गरिएको पनि स्पष्ट पारे ।
‘नगर प्रहरीलाई पारदर्शी, मर्यादित र अनुशासित बनाउन भर्ना छनोटदेखि आधारभूत तालिमसम्मको जिम्मेवारी कर्णाली प्रदेश प्रहरी तालिमलाई सुम्पेका थियौं’, नगरप्रमुख आचार्यले भने–‘कसैको दवाव र प्रभावमा नगर प्रहरी नियुक्त गरिएको छैन । गतिशील कोहलपुर नगरपालिका बनाउने हाम्रो उद्देश्यमा नगरप्रहरीले आफ्नो व्यवसायीकता प्रदर्शन गर्नेछ भन्ने विश्वास छ ।’
नगरउपप्रमुख संगिता सुवेदीले संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार नै कोहलपुर नगरपालिकाले प्रहरी ऐन बनाएर प्रक्रियागत ढंगले नगरप्रहरी स्थापना गरेको जानकारी दिइन् । उनले पारदर्शी र निष्पक्ष कार्यशैलीका साथ व्यावसायीक धर्म निर्वाह गर्न दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई निर्देशन दिइन ।
यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक चक्रबहादुर सिंहले नगरपालिकाले आवासीय सुविधासहित नगर प्रहरीलाई यसखालको तालिम दिनु नमुना योग्य भएको भन्दै प्रंशसा व्यक्त गरे ।
उनले प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, सामुहिक भावनाको विकाश, लगनशीलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न भएको भन्दै आफ्नो जिम्मेवारी कार्यक्षेत्रमा कुशलतापूर्वक निर्वाह गर्न निर्देशन दिए ।
समारोहमा कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथीलाई स्वागत मन्तब्य ज्ञापन गरि दीक्षित भई जाने प्रशिक्षार्थी नगरप्रहरी जवानहरुले तालिममा हाँसिल गरेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रतिबद्ध भएर कार्यान्वयन गर्ने तथा नगरप्रहरी संगठनको मान प्रतिष्ठा उच्च बनाउन सफल हुने विश्वास व्यक्त गरे ।
तालिमका संयोजक प्रहरी निरीक्षक यामबहादुर मल्लले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । ७ महिला र १२ पुरुषगरी १९ जना प्रहरी जवानलाई आवासीय व्यवस्थासहित आधारभूत तालिम प्रदान गरिएको नगरप्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।
कोहलपुर नगरपालिकामा थापाको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवल्दार र १९ प्रहरी जवान गरी २४ जनाको टोली छ । उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने सेवासुविधा उपलब्ध गराइएको छ ।
कोहलपुर नगरपालिकाले नगरप्रहरीलाई छुट्टै ब्यारेक नै बनाएको छ । दीक्षान्त समारोहमा नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, सशस्त्र प्रहरी तालिम केन्द्र नौबस्ताका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र केसी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, कोहलपुर नगरपालिकाका पूर्व नगरप्रमुख लुटबहादुर रावत, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, कार्यपालिकाका सदस्य, विभिन्न सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्रहरी जवान दुर्गा थापा, सर्वद्वितीय प्रशिक्षार्थी प्रहरी जवान बाल्मिकी थापा र सर्वतृतीय प्रशिक्षार्थी प्रहरी जवान निशा देबकोटा घोषित भए । उनीहरुलाई नगरप्रमुख आचार्य, उपप्रमुख सुवेदी र प्रशासकीय अधिकृत ढकालले पुरष्कार वितरण गरेका थिए ।