कर्मचारीद्वारा डुडुवामा तालाबन्दी, सेवा थप प्रभावित


कर्मचारीद्वारा डुडुवामा तालाबन्दी, सेवा थप प्रभावित

डुडुवा (बाँके) २६ मसिंर : बाँके डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा आफुहरुको सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु चरणबद्ध आन्दोलनलाई थप कडाई गरेका छन् । नयाँ आर्थिक वर्ष २०७९।०८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएर सेवाग्राहीका सबै सुविधा ठप्प भएको छ । सेवा नै ठप्प भएपछि सेवाग्राही र कर्मचारीहरु आक्रोसित बनेका छन् ।

गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले जनप्रतिनिधीहरुको पटक पटक ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएपछि आईतबारदेखि कार्यालयमा तालाबन्दी गरि आन्दोलनमा उत्रेका हुन् । कर्मचारीहरुले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयहरुमा पनि शिक्षकहरुले आशिंक अध्ययापन गराएका छन् ।

केहीदिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरुले एक्यबद्धता जनाएका छन । आईतबारदेखि गरिएको तालाबन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ । गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले तत्काल तलब भत्ताको माग गर्दै गाउँपालिकाका जनप्रतिनिधीको ध्यानाकर्षण गराएका हुन ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन, भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कर्मचारीहरुले तलब नपाउदा उनीहरुको दैनिक खर्च, घरभाडा, छोराछोरीलाई पढाउन र घरको ऋृण बुझाउन नसक्दा ठुलो समस्या भएको कर्मचारीहरु बताउँछन् । कर्मचारीहरुले पारिश्रमिक नपाएपछि विकल्पमा आन्दोलनको कार्यक्रम रोजेका हुन् ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले विपक्षी दलहरुले अवरोध गरेका कारणले गाउँसभा हुन नसकेको भन्दै उनले विपक्षीहरु पटक पटक मौखिक रुपमा सहमती गरेपनि व्यहारमा कार्यन्वयन नगरेको बताए ।

अध्यक्ष चौधरीले अनावश्यक विभिन्न कानूनविपरितका बखेडा गरेर कार्य अवरोध गरेको र नीति तथा प्रक्रियामा जान नखोेजेको र बैठकमा समेत अनुपस्थित हुने एजेण्डमाथी छलफल नगरी बहुमतको दम्भ देखाएर गाउँपालिकालाई बन्धक बनाएको बताए ।

उनका अनुसार भोली मंगलबार दिउँसो २ बजे कार्यपालिकाको बैठक बोलाइएको छ सम्भवतः भोलीको बैठकले केही निकास दिने विश्वास लिइएको छ । यता विपक्षी दल नेकपा एमालेका वडा नम्बर–६ का वडाध्यक्ष मोहनराम मिश्रले पालिका अध्यक्षसँग मौखिक रुपमा भद्र सहमती भएको भन्दै कार्यपालिकाको बैठकले गाउँसभा गर्न बाटो खुलेको प्रतिक्रिया दिए । उनले मंगलबारको बैठकले निकास दिने विश्वास व्यक्त गरे ।

समयमा गाउँसभा नभएर संघीय र प्रदेशसरकारबाट प्राप्त ससर्त, विशेष अनुदान र समपुरक अनुदानको बजेट कार्यान्वयनको प्रक्रियामा नबढेपछि फ्रिज हने सम्भावना समेत बढेको छ । यस्तै विकास निमार्णसंगै गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा ढुवानीको टेण्डरप्रक्रिया समेत अबरुद्ध हुँदा यसले पालिकालाई आन्तरिक स्रोतमा समेत असर पारेको छ । गाउँसभाको विषयमा पालिकाले ४ पटक कार्यपालिकाको बैठक र गाउँसभा डाके पनि केही बैठकमा अनुपस्थित र केहीमा उपस्थितभएर छलफल प्रक्रियामै सहभागि नभएकाले सभा अन्यौलमा परेको छ ।